राजविराज । आज कार्तिक शुक्ल द्वितीयका दिन भाइटीका तथा मधेशका जिल्लाहरूमा विशेष महत्वका साथ भरदुतीया पर्व मनाइँदैछ । तिहारको पाँचौं अर्थात् अन्तिम दिन मनाइने यो पर्व दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्ध, स्नेह र शुभकामनाको प्रतीकका रूपमा मनाइन्छ ।
यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई विधिपूर्वक पूजा गरी सप्तरंगी टीका लगाउने परम्परा रहेको छ । भाइले पनि दिदी–बहिनीलाई विशेष सम्मानका साथ मिष्ठान्न, फलफूल, मेवा र मनपर्ने खानेकुरा खुवाउँछन् । दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै मखमली, सयपत्री र दूबोको मालाले टीका लगाउने गर्छन् । यी फूलहरूको धार्मिक प्रतीकात्मक अर्थ पनि छ—मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ उड्दैन, र दूबो सधै हरियै रहन्छ, जसले दीर्घ सम्बन्धको प्रतीक जनाउँछ ।
मधेशका जिल्लाहरूमा दिदीबहिनीहरूले टीका लगाउनुअघि दाजुभाइबाट ‘न्यौत’ (पूजाआजा) लिने चलन रहिआएको छ । ससुरालीमा रहेकी दिदीबहिनीसँग टीका लगाउन जाँदा दही, चिउरा, मिठाई, फलफूल, कपडा आदि लिएर जाने परम्परा छ, यद्यपि आधुनिकतासँगै यो चलन केही हदसम्म हराउँदै गएको छ । अहिले दाजुभाइले पनि दिदीबहिनीलाई लत्ताकपडा, सुपारी र दक्षिणा दिने चलन बढ्दो क्रममा छ ।
धार्मिक मान्यताअनुसार भाइटीकाको मूल कथा यमराज र यमुनासँग सम्बन्धित छ । यमराजले यमुनाको घरमा बास गरेर भाइपूजा स्वीकृत गरेको विश्वास रहँदै आएको छ । यस दिन दियो, कलश, गणेश, बिमिरो, ओखर, तेल र कटुस आदिको पूजा गरी दाजुभाइ–दिदीबहिनीको सुख, शान्ति र दीर्घायुको कामना गरिन्छ ।

