राजविराज । पछिल्लो दुई दिनदेखि मोन्था चक्रवातका कारण लगातारको वर्षाले सप्तरी जिल्लामा लगाइएको धानबाली र तरकारी खेतीमा क्षति पुगेको छ ।
विहीबारदेखिको वर्षाले गर्दा खेतहरु जलमग्न हुन गई धानबाली तथा तरकारी खेतीमा क्षति भएको हो । खेतमा लगाइएको धानबालीमा दाना आउनै लागेका तथा केही पाकेका धानबाली क्षति पुगेका रुपनी गाउँपालिका वडा नम्बर ४ भथौलका किसान रामचन्द्र साहले जानकारी दिएका छन् । उनका अनुसार वर्षासँगै चलेको हावाले गर्दा धानबाली खेतमै ढल्किन पुगेको बताउँदै उनले भने ‘दाना लागेका धानबाली पानीमा डुबेको छ भने दाना लाग्दै गरेका धानबाली समेत गुन्द्री ओछ्याए जस्तै भएको छ ।’
यस्तै दुःखेसो रहेको छ अर्का स्थानीय किसान सञ्जय साहको पनि । उनले पाँच कट्ठा खेतमा लगाएको आलु, रायो तथा गोलभेडा खेतीमा पानी जमेर जलमग्न भएको छ । निरन्तर वर्षा जारी रहेकोले रोपिएका आलु खेती नष्ट भएको दुःखेसो सुनाउँदै उनले भने ‘आलु रोपेको दश दिन मात्रै भएको छ, वर्षाको पानीले गर्दा नष्ट हुन पुगेको छ ।’ यसैगरी विष्णुपुर गाउँपालिका वडा नम्बर १ खुरहुरियाका किसान जयनारायण यादवको पनि पीडा फरक छैन । उनका अनुसार उक्त वडाका केही किसानहरुको धानबाली तथा तरकारी खेतीमा क्षति पुगेको छ । धानबाली भित्र्याउने समयमा भएको वर्षाले गर्दा खेत डुबानमा परेपछि किसानहरू चिन्तित बनेका छन् ।
जिल्ला कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार मोन्था चक्रवात वर्षाले जिल्लाका सबै स्थानीय तहहरुमा लगाइएको धानबाली तथा तरकारी खेतीमा क्षति पुगेको छ । वर्षा सम्बन्धी पूर्व सूचनाका कारण कतिपय किसान पाकेका धान घर भित्र्याइसकेको तथा दाना हरियो रहेका केही धानबाली खेतमै ढलेर क्षति भएको बताउँदै उने भने ‘खेतमै ढलेका पाकेका धानबालीबाटी पानी निस्केपछि खासै क्षति हुँदैन, दाना नलागेका धानबालीमा आंशिक क्षति भएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख राउतका अनुसार कुल धानखेतीमा बढी तीन प्रतिशतमा क्षति पुगेको छ । धानबाली भन्दा पनि तरकारी खेतीमा बढी क्षति भएको छ । कृषि क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण आउन केही दिन लाग्ने उनले जानकारी दिए ।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव नेपालमा रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ ।