फरार दुई कैदी सहित तीन जना पक्राउ

राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ।

कार्यालयले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै कन्चनरुप नगरपालिका–१० बदगाका ३५ वर्षीय मनोज पासवान, वडा नम्बर–३ का २३ वर्षीय विजय खड्का र राजविराज नगरपालिका–१४ का ५६ वर्षीय रामकुमार मण्डल पक्राउ परेको जनाएको हो। प्रहरीका अनुसार पासवान शरीर अंगभंग मुद्दामा दुई वर्ष कैद सजाय तोकिएर नख्खु कारागार काठमाडौँमा पुर्पक्षमा रहेका बेला फरार भएका थिए।

त्यस्तै, खड्का लागूऔषध मुद्दामा पाँच वर्ष छ महिनाको कैद सजाय तोकिएर झुम्का कारागार सुनसरीमा रहेकामा नौ महिना मात्र भुक्तान गरी भागेका हुन्। दुवै जनालाई जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका फरार अभियुक्तको रूपमा पक्राउ गरिएको हो।

उनीहरूलाई पुनः कैद सजाय भुक्तानका लागि राजविराज कारागारमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ। यसैगरी, बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी रामकुमार मण्डल पनि खोजतलासका क्रममा पक्राउ परेका छन्। फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका मण्डललाई आवश्यक प्रक्रिया पूरा गरी मोरङ प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस