मधेश प्रदेश नेपालको प्रमुख धान उत्पादन हुने क्षेत्र हो । यस प्रदेशमा देशको कुल धान उत्पादनको हिस्सा करिब ५० प्रतिशत रहेको छ । समथर भू–भाग, उर्वर दोमट माटो र मनसुनको पर्याप्त वर्षाले यहाँ धान खेतीलाई उपयुक्त बनाउने गर्दछ ।
सर्लाही, रौतहट, धनुषा, सिरहा, सप्तरी, महोत्तरी, बारा र पर्सा जिल्ला धान उत्पादनका मुख्य क्षेत्र हुन् । मन्सुली, राधा–४, राधा १७, सोना मन्सुली, बास्मति, हर्दिनाथ–१, कान्छी, कतरनी, गखुलसाइर, सुक्खा धान–३, र बुढेसुब्बा जस्ता जातहरू किसानबीच प्रचलित छन् । प्रदेशमा वार्षिक करिब पाँच लाख हेक्टर जमिनमा खेती हुने र करिब २० लाख मेट्रिक टन धान उत्पादन हुने गर्दछ । तर, सिँचाइको कमी, गुणस्तरीय मल र बिउको अभाव, अनियमित वर्षा र बजारमा उचित मूल्य नपाइनु किसानका मुख्य चुनौती रहेको छ । यद्यपि धान खेती मधेश प्रदेशका अधिकांश परिवारहरूको प्रमुख जीविकाको स्रोत हाे ।
असारको रोपाइँदेखि मंसिरको कटनीसम्म किसानहरु अत्यधिक सक्रिय रहने गर्छन् । उचित नीति, प्रविधि र बजार व्यवस्थापन भए मधेश प्रदेशले नेपाललाई धानमा आत्मनिर्भर बनाउन सक्ने ठूलो सम्भावना रहेको छ ।
यसपाली समयमा वर्षा नभएका कारण आंशिक रुपमा रोपाइँ प्रभावित भएको छ । नहर, बाँधका साथै भूमिगत सिंचाइबाट खेती गरिएको छ । हालैको मोन्था प्रभावले भएको वर्षाले गर्दा दाना लागेका तथा नलागेकी केही धानबालीमा क्षति पुर्याएको छ । यद्यपी यसपालीको उत्पादन अवस्थालाई औषतमा राम्रै मान्न सकिने विज्ञहरुको भनाइ छ ।
शब्द तथा तस्विरः श्यामसुन्दर यादव/मधेशलाइभ
