शिक्षा, स्वास्थ्य र उद्योगधन्दा धराशायी हुनुमा कांग्रेस–एमाले जिम्मेवारः अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले कांग्रेस–एमालेले विगत ३५ वर्षमा शिक्षा, स्वास्थ्य र उद्योग–धन्दालाई धराशायी बनाएको आरोप लगाएका छन्।

जनकपुरधाममा समाजवादी युवा संघ नेपालले आइतबार आयोजना गरेको ‘युवा नेतृत्व र सशक्तिकरण सम्मेलन’मा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । २०४७ सालयता कांग्रेस–एमालेले नै सत्ता सञ्चालन गरेको चर्चा गर्दै उनले भने ‘कांग्रेस एमालेले देशमा गरेकै के छ ?, नेपालमा एक समय १८० वटा कलकारखाना थिए, हज्जारौंले रोजगारी पाएका थिए भने ठूलो मात्रामा राजस्व पनि आउँथ्यो, आज किन यस्तो अवस्था ?”

तीन दशकभन्दा बढी समय सत्तामा बसे पनि यी दलहरूले युवाको भविष्य सुरक्षित गर्न नसकेको बताउँदै उनले ७० लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशतिर धकेलिनु परेको बताए । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरूमा निजीकरण गरेको र ती संस्थाहरू प्रायः कांग्रेस–एमालेका नेताहरूकै छन् । सरकारी प्रणालीलाई कमजोर बनाई निजी क्षेत्रलाई बलियो बनाएर भ्रष्टाचारलाई संस्थागत गरेको अध्यक्ष यादवको आरोप छ ।

युवाको योगदान बिना कुनै पनि परिवर्तन सम्भव नहुने उल्लेख गर्दै यादवले राजनीतिक नेतृत्वमा युवा सहभागिता अत्यन्तै कम रहेको बताए । युवालाई प्रशिक्षण लिएर नेतृत्वमा आउनुपर्नेमा जोड दिँदै उनले देशको भविष्य युवाहरुले कोर्नुपर्ने आवश्यकता औंल्याए ।

कांग्रेस–एमाले नेतृत्वको सरकारलेमाथिदेखि तलसम्म भ्रष्टाचारलाई संस्थागत गरेको, भेदभाव बढाएको र कृषि तथा वन–जंगल नष्ट गरेको आरोप पनि लगाए । आगामी निर्वाचनमा भ्रष्टाचारविरुद्ध युवा अग्रपंक्तिमा उभिनुपर्ने अध्यक्ष यादवले जोड दिए।

मधेश आन्दोलनमा युवाले दिएको योगदानलाई स्मरण गर्दै यादवले त्यस आन्दोलनले ल्याएको परिवर्तनको रक्षा गर्न अझै धेरै काम गर्नुपर्ने बताए । उनले नेपालको जेन–जी आन्दोलनदेखि बंगलादेशको युवा आन्दोलनसम्मको उदाहरण दिँदै नेताहरूले यस्ता घटनाबाट सिक्नुपर्ने विचार व्यक्त गरे।

समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष कमलेश यादवले गरेका थिए । कार्यक्रममा पूर्व राजदूत रामस्वार्थ राय, पूर्वमन्त्री सुरिता साह, सांसद रामअशिष यादव, जसपा मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष मनिष यादव, जिल्ला अध्यक्ष पशुपति यादवलगायतले युवालाई परिवर्तनको मुख्य शक्ति बनेर अघि बढ्न आह्वान गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस