महेन्द्र विन्देश्वरी क्याम्पस रित्याउने दोषी को ? नीति कि नियत !

उमेश कुमार यादव

उमेश कुमार यादव

आज हाम्रो राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस किन विद्यार्थी बिना रितिएको छ ? आज हाम्रो सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर किन कमजोर हुँदै गएको छ ? कतिपय विद्यालयमा विद्यार्थीहरुको संख्या किन रितिदै गएको छ ? यसको कारण के होला त ?

सन ९० पछि अपनाइएको नवउदारवाद तथा मिश्रित अर्थतन्त्रको नितिले सरकारी विद्यालयलाई यो अवस्थामा पुर्याउन के कति भुमिका खेल्यो ? मिश्रित अर्थतन्त्र, नवउदारवादी बाटोले कसरी ध्वस्त पार्यो ? पिसिएल फेज आउट गर्नैपर्ने बाध्यता किन आइपर्यो ? सरकारी विद्यालयमा कमजोर शिक्षक नियुक्ति हुने बाटो कसरी आइपुग्यो ?

शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा निजी, करार शिक्षकहरु नियुक्त गर्ने र तिनीहरुको पेशाको भविष्य अनिश्चित बनाई राख्ने, रोजगारी न खोसियोस् भन्ने डरले एउटा बौद्धिक पेशाकर्मीलाई रातदिन चिन्ताले सताइराख्ने परिस्थिति निर्माण कसरी भयो ? के यो ठिक हो त ? हाम्रो बालबालिकाको भविष्यसङ्ग भइरहेको खेलवाड कुन नीति तहत भइरहेको छ ? कुन नीतिले हाम्रो सरकारी शैक्षिक संस्थालाई यस्तो अवस्थामा पुर्यायो ? हाम्रो चिन्ता यहाँ हुनुपर्ने होइन र ?

हामी स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालयका सञ्चालक समिति र प्रधानाध्यापकसङ्ग बसेर अहिले गर्न सकिने सुधारका काम गरौँ । यसले धेरै हदसम्म तत्कालीन समस्याको समाधान हुन सक्छ । हाम्रो बालबालिकाको भविष्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन । विद्यार्थीलाई पढाउन नसक्ने शिक्षक कसरी नियुक्त भए ? कसले नियुक्त गरे ? कुन नितिगत कमजोरीले छिर्न पाए ? हामी यहाँ चिन्ता गरौं, बहस गरौं । करेक्सन गरौँ ।

तर, कक्षा कोठामा गएर कुनै पनि शिक्षकलाई बेइज्जती गर्ने गरी व्यबहार नगरौं । त्यसलाई सामाजिक सञ्जालमा झन हाल्दै न हालौँ । सम्बन्धित शिक्षक र विद्यालय प्रशासनसँग सम्बाद गरौं । सार्वजनिक बेइज्जती समस्याको समाधान होइन । त्यसरी गर्दा त्यसले पार्ने मानसिक असर ले डिप्रेशन मा जाने र कुनै अप्रिय घटना ( आत्महत्या जस्तो ) हुन सक्ने, त्यसको आफन्तहरुमा पर्नसक्ने सार्वजनिक अपमानलाई ख्याल गरौँ । सम्बन्धित सरकार प्रमुखहरुले शिक्षकहरुको तालिम र तिनीहरुको क्षमता विकास गर्न आवश्यक योजना कार्यान्वयनमा ल्याओस् ।

सवाल ये नही है कि बस्तीयाँ किसने जलाई ?
सवाल ये है कि पागल के हाथमे किस निति ने माचिस ( सलाइ) पहुँचाइ ?
बामपन्थी नेता यादव समसामयिक विषयमा कलम चलाउँछन् । सं.

 

Author:



क्याटोगरी छान्‍नुहोस