राजविराज । संविधान संशोधन लगायत २८ बुँदे माग साहित जनता समाजवादी पार्टी (जसपा) नेपालको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयहरु अगाडि धर्ना दिएका छन् ।
पार्टीले यस अघि चरणबद्ध रूपमा शान्तिपूर्ण विरोध, धर्ना र जनसभाहरू सञ्चालन गर्ने निर्णय अनुसार देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना कार्यक्रम राखिएको पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् । उनका अनुसार पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपति, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, पूर्ण समावेशी संसद्, स्वायत्त अधिकार सम्पन्न प्रदेश लगायतका संवैधानिक मुद्दामा तत्काल संशोधन लगायत २८ बुँदे माग अघि सारेका छन् ।
पार्टीले सार्वजनिक गरेको कार्यक्रम अनुसार मंसिर १० गते देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो । मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय क्षेत्रका शहर तथा बजार क्षेत्रमा विरोध कार्यक्रम, कोण सभा र जनपरिचालन अभियान सम्पन्न भइसकेको नेता साहले जानकारी दिएका छन् ।
मंसिर १९ देखि २१ गतेसम्म जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि मागसहितका प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना जारी रहने नेता साहले जानकारी दिएका छन् । पार्टीका केन्द्रीय सचिव साहका अनुसार मंसिर २७ देखि पौष ४ गतेसम्म देशभर जिल्ला–स्तरीय विरोध सभा तथा जनसभा आयोजना गरिनेछ । प्रदेश–स्तरीय जनप्रदर्शन तथा विरोध सभा कार्यक्रम भने पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ नेपालगन्ज÷भैरहवामा गर्ने भव्यताका साथ सम्पन्न गरिनेछ ।