नेपाली कांग्रेसका कृष्णप्रसाद मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। यादव सात दलीय गठबन्धन— नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतका दलका ७७ जना सांसदको समर्थनसहित सरकारको नेतृत्वमा आएका हुन्। पछिल्ला दिनमा मधेश प्रदेशमा देखिएको राजनीतिक तरलताले नयाँ सरकार गठनको आवश्यकता बलियो बनेको थियो।

यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेता सरोज कुमार यादव २३ कात्तिकमा मुख्यमन्त्री बनेका थिए। तर उनीविरुद्ध सात दलले सर्वोच्च अदालतमा रिट दायर गरेपछि परिस्थिति बद्लिएको हो। सर्वोच्च अदालतले मंसिर १५ गते तत्कालीन मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। विश्वासको मत नलिई मंसिर १७ गते यादवले पदबाट राजीनामा दिए।

पद रिक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरे अनुसार कांग्रेसका नेता यादवले मुख्यमन्त्री पदका लागि दावी पेस गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस