राजविराज । राजविराज स्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आह्वानमा तेस्रो दिन पनि रिले अनसनलाई निरन्तरता दिइएको छ ।
तेस्रो दिन आइतबार महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजका स्वतन्त्र विद्यार्थी युनियका पदाधिकारीहरुले सहभागिता जनाएका हुन् । स्ववियुका सभापति रंजित कुमार यादवको नेतृत्वमा पदाधिकारीहरुले २४ घण्टाका लागि सहभागी भएका छन् । सरकारलाई दवाब दिनका लागि विद्यार्थी नेताहरुले सहभागिता जनाउँदै अविलम्ब माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
कार्यालय गाभ्ने वा खारेज गर्ने कार्य निर्णय अविलम्ब फिर्ता लिई आफुहरुको माग अविलम्ब सम्बोधन गर्न सरकारसँग संघर्ष समितिले माग गरेका छन् । माग पुरा गर्न ढिलाई थप सशक्त कार्यक्रमकासाथ आन्दोलन गर्न बाध्य हुने समितिका संयोजक मोहन यादवले जानकारी दिएका छन् ।
राजविराजस्थित करदाता सेवा कार्यालयमा ७२ हजारभन्दा बढी करदाताहरू छन् र गत आर्थिक वर्षमा यस कार्यालयले १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो । सरकारले देशभरका ३७ करदाता सेवा कार्यालय खारेज गरी सेवा आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान गर्ने नीति अघि बढाएको छ ।