कर्जा संवादका क्रममा बैंक कर्मचारीमाथि कुटपिट, उपमेयरको संलग्नता पुष्टि

राजविराज। ज्योति विकास बैंकका दुई कर्मचारीमाथि सप्तरीमा अभद्र व्यवहार र कुटपिट भएको घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी संयोजक रिताकुमारी चौधरीको प्रत्यक्ष संलग्नता रहेको खुलेको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक तथा कर्जा असुली प्रमुख सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ कर्जा किस्ता सम्बन्धी संवादका लागि सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालि पुगेका थिए। सो क्रममा उनीहरूमाथि गालीगलौज, कुटपिट तथा दुर्व्यवहार गरिएको बैंकको दाबी छ।

सार्वजनिक भिडियोमा उपमेयर चौधरीले बैंकका कर्मचारीमाथि लट्ठीले प्रहार गरिरहेको र अन्य व्यक्तिलाई कर्मचारीमाथि जुत्ताको माला लगाएर मोसो दल्न उक्साइरहेको दृश्य देखिन्छ। घटनाबारे प्रतिक्रिया लिन खोज्दा उपमेयर चौधरीसँग सम्पर्क हुन सकेन।

घटनास्थलमा पुगेका सप्तकोशी नगरपालिकाका मेयर कृष्णप्रसाद ढकालले स्थिति नियन्त्रणमा लिएको बताइए पनि उनले यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। मेयर ढकालसँग सम्पर्क गर्दा उनले ‘अहिले मिटिङमा छु’ भन्दै फोन काटेको स्रोतले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले भिडियोमा उपमेयर चौधरीद्वारा बैंकका कर्मचारीमाथि कुटपिट भएको पुष्टि गरे। ‘भिडियोमा उपमेयरज्यूले कर्मचारीलाई कुटिरहेको देखिन्छ,’ उनले भने।

बैंकले प्रहरीमा दिएको जाहेरीअनुसार घटनामा उपमेयर चौधरीका श्रीमान् सञ्जीव चौधरी, छोरा सिरज चौधरी, शेयरधनी प्रभुनारायण चौधरी र पञ्चदेव, साथै ऋणी तथा शेयरधनी उमाकान्त चौधरी र रवीन्द्र स्वर्णकार संलग्न रहेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Video Link :

https://www.facebook.com/share/r/1DkEUgDFvF/

Author:



क्याटोगरी छान्‍नुहोस