राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकामा सम्पन्न प्रथम जिल्लास्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी चनौरा राजविराज टिमले हात पार्न सफल भएको छ ।
गाउँपालिका कार्यालयको सहयोग तथा हाम्रो स्टार युवा क्लवद्वारा वडा नम्बर १, थल्हीमा सोमबार सम्पन्न फाइनल खेलमा बरमझिया टिमलाई १ विरुद्ध २ गोलले चनौरा राजविराज फुटबल टिम विजेता घोषित भएका हुन् । गत मङ्सिर २२ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताका विजेता टिमलाई प्रमुख अतिथि पालिका अध्यक्ष उमेश प्रसाद यादवले नगद ५१ हजार, कप र प्रमाणपत्र प्रदान गरेका छन् ।
यस्तै उपविजेता टिमलाई ३१ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कार वितरण गर्दै पालिका अध्यक्ष यादवले पालिकामै पहिलोपटक सञ्चालन भएको फुटबल प्रतियोगिता आगामी वर्षहरुमा अझ सशक्त रुपमा सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे । यस्ता प्रतियोगिताहरु निरन्तर आयोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रियस्तरका खेलाडि उत्पादनमा मदत मिल्ने उनले विश्वास व्यक्त गरे ।
युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्नो वडाबाट भलिबल प्रतियोगिता सञ्चालन गरेको बताउँदै अन्य प्रतियोगिताहरु समेत आयोजना गरिने वडा अध्यक्ष बलराम यादवले जानकारी दिए । आफू युवा जमातबाटै सङ्घर्ष गर्दै राजनीतिमा आएको चर्चा गर्दै आफुले युवाहरुको हकहितलाई प्राथमिकता दिएको उनले जानकारी दिए ।
कार्यक्रममा वडा अध्यक्षहरु जिबछ मण्डल, लोचन साह, जिल्ला फुटबल संघका जिल्ला अध्यक्ष राजकुमार परियार, क्लवका अध्यक्ष मो. सइम लगायतले खेलाडिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । प्रतियोगितामा सप्तरी जिल्लाका कुल ८ ओटा टिमको सहभागिता रहेको थियो ।
