मधेश प्रदेश सरकारद्वारा १८ कार्यालयमा छड्के, कारबाहीमा ७२ कर्मचारी

जनकपुरधाम । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनकपुरधामस्थित मातहतका १८ वटा कार्यालयमा छड्के निरीक्षण गरेको छ।

निरीक्षणका क्रममा कर्मचारीको हाजिरी, कार्यालय उपस्थिति तथा तोकिएको पोषाकको अवस्था जाँच गरिएको हो। निरीक्षणबाट पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना गरी कुल ७२ जना कर्मचारी कारबाहीमा परेको अर्थ मन्त्री महेश कुमार यादवले जानकारी दिएका छन् ।

उनका अनुसार कारबाहीमा पर्ने कार्यालयहरूमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, कृषि ज्ञान केन्द्र, प्रदेश वन निर्देशनालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र, प्रदेश लेखा नियन्त्रक कार्यालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन रहेका छन्। कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी छन्। पदगत रूपमा उपसचिवसरह २ जना, शाखा अधिकृतसरह ४१ जना, नायब सुब्बासरह १६ जना, खरिदारसरह ४ जना, सवारी चालक ३ जना तथा कार्यालय सहयोगी ६ जना रहेका छन्।

पूर्वस्वीकृति बिना अनुपस्थित ३४ जना र तोकिएको पोषाक नलगाएका ३८ जना कर्मचारी भेटिएका छन्। साथै, दुई जना कर्मचारी कार्यालयमा उपस्थित भए पनि हाजिर नगरेको र पोषाक नलगाएको पाइएको छ।

छड्के निरीक्षण गरिएका कार्यालयमध्ये पशु सेवा तालिम केन्द्रका कर्मचारी भने हाजिर र तोकिएको पोषाकमै उपस्थित रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ। कारबाहीमा परेका कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको र सम्बन्धित निकायलाई विवरणसहित पत्राचार गरिएको छ।

प्रदेश सरकारका अनुसार छड्के निरीक्षणलाई निरन्तरता दिँदै बाँकी सात जिल्लामा समेत अनुगमन गरिनेछ। साथै, आगामी दिनमा सेवा प्रवाह र विकास निर्माण कार्यको समेत निरीक्षण गरिने जनाइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस