काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्।
बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा चौधरीले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। कार्यक्रममा अध्यक्ष यादवले चौधरीलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै चौधरीले मधेशका मुद्दा, अधिकार र पहिचानको संघर्षलाई संस्थागत र प्रभावकारी ढंगले अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक शक्ति भएको बताए। “मधेशी जनताको अधिकार, संघीयता तथा समावेशी लोकतन्त्रको संरक्षणका लागि जसपा नेपालसँगै अघि बढ्ने निर्णय गरेको हुँ,” उनले भने।
जसपा नेपालका नेताहरूले चौधरीको प्रवेशले मधेश प्रदेशमा पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार अनुभवी र प्रभावशाली नेताको आगमनले पार्टीलाई आगामी राजनीतिक गतिविधि र निर्वाचनमा सकारात्मक ऊर्जा प्रदान गर्नेछ।
कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासी नगरपालिकाका पूर्व मेयर कौशल किशोर यादव तथा बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन रायलगायत नेताहरूको उपस्थिति रहेको थियो।