काठमाडौँ । सरकारले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको मागअनुसार म्याद थप गर्ने प्रतिबद्धता जनाएकी हुन्। आयोगका अध्यक्ष कार्कीका अनुसार निर्धारित समयभित्र सबै काम सम्पन्न हुन नसकेकाले म्याद थप्न आग्रह गरिएको थियो। प्रधानमन्त्रीसँगको छलफलमा बाँकी काम पूरा गर्न थप समय आवश्यक रहेको जानकारी गराइएको र त्यसमा प्रधानमन्त्री सहमत भएको उनले बताए।
आयोगको हालको म्याद यही ९ पुसमा सकिँदैछ। कार्यादेशअनुसार तथ्य संकलन, सरोकारवालासँगको छलफल र प्रतिवेदन तयारीलगायतका काम अझै बाँकी रहेकाले थप समय आवश्यक भएको आयोगको निष्कर्ष छ। सरकारले आयोगबाट प्राप्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरी औपचारिक निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
म्याद थपिएसँगै आयोगले जेन–जी आन्दोलनसँग जोडिएका घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ।