राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १, खुरहुरिया स्थित जनता माध्यमिक (प्राविधिक धार) विद्यालयमा शनिवार सरसफाइ कार्यक्रम आयोजना गरियो ।
पूर्व विद्यार्थी समाजद्वारा आयोजित कार्यक्रममा समितिका साथै युवा तथा स्थानीयले सहभागिता जनाएको समितिका सहसंयोजक केदार प्रसाद यादवले जानकारी दिएका छन् । उनका अनुसार पहिलो दिनको सरसफाइमा विद्यालयको हाताभित्रका झाडी तथा फोहोर सफा गरिएको छ । विद्यालयको गेट तथा फिल्डमा पनि सरसफाइ गरिएको तथा बाँकी अर्को साता सरसफाइ गरिने उनले बताए ।
सरसफाइ कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष श्यामसुन्दर यादव, सहसंयोजक केदार प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चितरन्जन यादव, सिनियर अहेव श्यामप्रकाश यादव, प्रेमनारायण यादव, कैलास कुमार यादव, शिवकुमार यादव, गौतम कुमार यादव, धीरेन्द्र कुमार यादव, अनिल यादव लगायतको सहभागिता रहेको थियो ।
पूर्व विद्यार्थी समाजद्वारा विद्यालयमा सरसफाइ गरिएकोमा प्रधानाध्यापक रामनारायण यादवले धन्यवाद ज्ञापन गर्दै यस्ता गतिविधिहरुले विद्यालय परिवार उत्साहित भएको बताए । विद्यालयको शैक्षिक वातावरण सुधारमा आआफ्नो तवरबाट सहयोग पुर्याउन आग्रह समेत गरेका छन् ।



