मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिषको उम्मेदवारी

जनकपुरधाम, ५ पुष । केही समययता रिक्त रहेको मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव चयन हुने निश्चित भएको छ ।

सात दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी सभामुख पदमा नियुक्त हुने पक्का भएको हो । गठबन्धन दलको शनिवार बसेको बैठकले सर्वसम्मत यादवको नाममा सहमती भएको जनता समाजवादी पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिएका छन् ।

उनका अनुसार सभामुख पदका लागि वाैद्धिक, शालिन, स्वच्छ एवम् निष्पक्ष छविका व्यक्ति प्रदेशसभा सदस्य यादव नै उपयुक्त रहेको ठहर गर्दै उनलाई सातओटै दलको साझा उम्मेदवार बनाइएको छ । सातदलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुख पदका लागि यादवले उम्मेदवारी समेत दर्ता गराएका छन् ।

प्रदेश सभा सचिवालयमा दिउँसो करिब १ बजे यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । जसपा नेपालका प्रमुख सचेतक यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका फकिरा महतो समर्थक रहेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट उनी दोस्रो पटक निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी सरसफाइ तथा पर्यावरण अभियानी समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस