काठमाडौँ, ८ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा विश्वका १० राष्ट्रका महिला टोली सहभागी हुनेछन् ।
क्यानले सार्वजनिक गरेको तालिकाअनुसार नेपाली महिला क्रिकेट टोली समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे रहेका छन् । नेपाली महिला टोलीले पहिलो पटक एसिया छनोट पार गर्दै विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको हो, जसलाई नेपाली क्रिकेट इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
आगामी जनवरी १४ तारिखदेखि फेब्रुअरी १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, नामिबिया, आयरल्यान्ड, संयुक्त राज्य अमेरिका (अमेरिका) र पपुवा न्यूगिनी रहेका छन् । प्रतियोगिताका खेलहरू काठमाडौँस्थित मुलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिने क्यानले जनाएको छ ।
नेपालले प्रतियोगिताको उद्घाटन खेल आगामी जनवरी १८ तारिखमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । उक्त खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । घरेलु मैदानमा विश्वस्तरीय टोलीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु नेपाली महिला टोलीका लागि ठूलो अवसरका रूपमा हेरिएको छ ।
प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन–तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्स चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष चार टोलीले सन् २०२६ मा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
Image: wicketnepal.com