काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) एकीकरण भएको छ ।
दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले आइतबार राती पार्टी एकीकरण गर्ने निर्णय गरेको हो । काठमाडौँमा बसेको पार्टीको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको गहन मूल्याङ्कन तथा विश्लेषण गर्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीलाई थप संस्थागत गर्ने निष्कर्ष निकालेको छ ।
बैठकमा संघीयता, पहिचान, समानुपातिक समावेशिता र सामाजिक न्यायजस्ता अग्रगामी परिवर्तनका मुद्दाहरूलाई अझ मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्न पार्टी एकीकरण आवश्यक रहेको ठहर गरिएको जनाइएको छ । बैठक पश्चात जारी गरिएको प्रेस–विज्ञप्तिमा दुवै पार्टीले समान विचार, उद्देश्य र राजनीतिक एजेन्डाका आधारमा एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
एकीकरण प्रक्रियासम्बन्धी आगामी कार्ययोजना र संरचनाबारे आवश्यक तयारी चाँडै सार्वजनिक गरिने जनाइएको छ । दुवै अध्यक्षले मधेश तथा उत्पीडित समुदायको अधिकार, समावेशी लोकतन्त्र र सामाजिक न्यायका मुद्दालाई सशक्त रूपमा अघि बढाउन पार्टी एकीकरण महत्वपूर्ण कदम हुने बताएका छन् ।
मधेशका दुई प्रमुख दुई पार्टीहरु बीच एकता हुनुलाई वौद्धिक वर्गले सकारात्मक रुपमा लिएका छन् । विगतको जस्तो जुटेर फेरी फुट्ने अवस्था आएकोले अब यस्तो अवस्था आउन नदिन नेतृत्वर्ग सचेत रहनुपर्ने प्रतिक्रियाहरु सामाजिक सञ्जालमा आउन थालेका छन् ।
