ललितपुर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामाजिक सद्भाव, समरसता र समुन्नत समाज निर्माण साझा लक्ष्य भएको उल्लेख गर्दै दलित समुदायलाई न्याय, अवसर, समानता र समावेशिताको मार्गमा थप दृढताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा सोमबार आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण समारोहमा सम्बोधन गर्दै उनले रणनीतिक योजना आयोगको दीर्घदृष्टिअनुरूप तयार गरिएको उल्लेख गरे । यसले दलित समुदायका समस्या समाधान गर्दै सभ्य र समुन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । नयाँ उजूरी व्यवस्थापन प्रणालीले दलित समुदायका मुद्दा, गुनासा र अधिकारसम्बन्धी विषयलाई व्यवस्थित ढंगले सम्बोधन गर्न सहयोग पु¥याउने उनको भनाइ थियो ।
उपराष्ट्रपति यादवले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन, अनुसन्धान–आधारित सुधार, जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण, राज्यका सबै अंगमा दलित समुदायको सहभागिता सुनिश्चित गर्ने कार्य तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा सहकार्य र जवाफदेहितालाई प्राथमिकतामा राख्न रणनीतिक योजना सहयोगी बन्ने अपेक्षा व्यक्त गरे । समाजमा विद्यमान कुरुति, विसंगति र विभेद हटाउन आयोग थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले दलित–दलितबीचको विभेद अन्त्यमा पनि ध्यान दिन आग्रह गरे ।
मधेशमा दलित र गैरदलितबीच चाडपर्व तथा महोत्सवमा देखिने सहकार्य र सहअस्तित्वलाई सूचिबद्ध गरी प्रचार–प्रसार गर्न सके सामाजिक सद्भाव अझ सुदृढ हुने उनको धारणा थियो । तराई–मधेशका दलित समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिमा अझै सीमान्तकृत रहेको भन्दै तिनीहरूलाई मूलधारमा ल्याउन आयोगले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए । स्वास्थ्य बीमा, सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमलाई संस्थागत रूपमा अघि बढाउनुपर्ने सुझाव दिनुभयो। शीतलहरलगायत प्राकृतिक विपद्मा दलित समुदाय बढी जोखिममा रहने भएकाले आयोगले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने पनि उनले उल्लेख गरे ।