जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश गम्भीर आर्थिक, सामाजिक र नैतिक सङ्कटको चरणबाट गुज्रिरहेको बताएका छन् ।
मधेश प्रदेश समितिले सोमबार जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै उनले विगत ३५ वर्षदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूको गलत नीति, उदारीकरण र अन्धाधुन्ध निजीकरणका कारण देशका १३५ वटा कलकारखाना बन्द भएको आरोप लगाए । सरकारी विद्यालय कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्ब रुपैयाँभन्दा बढी ऋणको बोझमा परेको भन्दै अध्यक्ष यादवले चिन्ता व्यक्त गरे ।
शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र सरकारको लापरबाहीका कारण ध्वस्त बनेको भन्दै अध्यक्ष यादवले सत्तारुढ दलहरूकै शासनकालमा भ्रष्टाचार चरम सीमामा पुगेको बताए । संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका मुद्दा जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुईतिहाइको दम्भमा ती मागहरू बेवास्ता गरिएको उनले आरोप लगाए ।
अध्यक्ष यादवले वर्तमान निराशाजनक अवस्थाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिएको उल्लेख गर्दै सिंहदरबारलगायत ऐतिहासिक र सामरिक महत्वका संरचनामा क्षति पुग्नु चिन्ताजनक भएको बताए । सरकार अहिले ती युवाहरूलाई पनि विगतमा मधेशी जनतालाई ठगेजस्तै झुक्याउने प्रयासमा लागेको उनको आरोप थियो ।
जसपा नेपाल निर्वाचनमा जान पूर्ण रूपमा तयार रहे पनि वर्तमान सरकार निर्वाचन गराउन असक्षम रहेको उनले दाबी गरे । मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको भूगोल भएको उल्लेख गर्दै तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा अध्यक्ष यादवले जोड दिए ।
प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा आयोजित सभामा सहभागीहरूले संघीयता विरोधी गतिविधि, सुशासनको अभाव र जनजीविकासँग जोडिएका समस्याको विरोधमा नाराबाजी गर्दै सरकारलाई जनताको आवाज सुन्न आग्रह गरे । तिरहुतिया गाछीबाट सुरु भएको सभामा मधेशका विभिन्न जिल्लाबाट हजारौँ नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।