गजेन्द्रनारायण सिंह अस्पतालकाे अवस्था सुधार गर्न मेसुलाई ध्यानाकर्षण

राजविराज । इन्टेलेक्चुअल फाउण्डेशन नेपालले गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको सेवा, व्यवस्थापन र पूर्वाधारको अवस्था गम्भीर रूपमा खस्किँदै गएको भन्दै साेमबार मेडिकल सुपरिटेन्डेन्टको ध्यानाकर्षण गराएको छ।

फाउण्डेशनद्वारा सञ्चालित “शिक्षित राजविराज, विकसित राजविराज” अभियानअन्तर्गत अस्पतालको अवस्थाबारे स्थलगत अध्ययनपछि सोमबार मेसु  डा अवधेश कुमार मिश्रलाई  लिखित ध्यानाकर्षण पत्र बुझाइएको हो। करोडौँ रुपैयाँ बराबरका उपकरण खरिद भइसके पनि तीन वर्षदेखि गोदाममै थन्किएको, यसअघि सञ्चालनमा रहेको डायलासिस सेवा लामो समयदेखि बन्द रहेको र आईसीयूमा पटक–पटक आगलागीका घटना भइरहेकाले सेवा प्रभावित बनेको उल्लेख गरेको छ।

त्यसैगरी, इमर्जेन्सी तथा ओपीडी सेवामा चिकित्सकहरूको नियमित उपस्थिति नदेखिएको, कार्यसमयमै केही चिकित्सक निजी क्लिनिकमा भेटिने गरेको, अस्पतालले औषधि खरिद गरिरहे पनि विमा तथा इमर्जेन्सी सेवाका लागि तोकिएका औषधि बिरामीले नपाएको आरोप लगाइएको छ।

ध्यानाकर्षण पत्रमा ल्याबका कर्मचारीहरूले बाहिर निजी ल्याब सञ्चालन गरी परीक्षण अस्पतालकै ल्याबबाट गराउने गरेको, अस्पतालको सरसफाइ अवस्था अत्यन्तै नाजुक रहेको तथा इमर्जेन्सी वार्ड र चिकित्सकको ड्रेसिङ रुम बस्न अयोग्य अवस्थामा रहेको जनाइएको छ। साथै, बिरामी आवत–जावतका बाटोसमेत सहज नरहेको उल्लेख छ।

इन्टेलेक्चुअल फाउण्डेशन नेपालले यी सबै कमजोरीका कारण सप्तरी जिल्लाबासीको आस्थाको केन्द्र मानिएको एक मात्र संघीय अस्पताल दिनानुदिन रेफर सेन्टरमा सीमित हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। फाउण्डेशनका अध्यक्ष डा. सूर्यप्रसाद यादवले मेडिकल सुपरिटेन्डेन्ट स्वयं सप्तरीवासी भएकाले जनताको पीडा बुझी यी समस्या समाधानका लागि शीघ्र र कडा कदम चाल्न आग्रह गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस