काठमाडाैँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्द सूची पेश गरेका छन्। निर्वाचन आयोगले पुस १३ र १४ गतेका लागि बन्द सूची दर्ताको कार्यतालिका निर्धारण गरेको थियो। सोही कार्यतालिकाअनुसार सोमबार राति र मंगलबार बिहानसम्म ६४ राजनीतिक दलले आफ्नो बन्द सूची आयोगमा दर्ता गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
बहादुर भवनस्थित निर्वाचन आयोगमा स्थापना गरिएको समानुपातिक प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा दलहरूले बन्द सूची पेश गरेका हुन्। समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधि सभाका लागि ११० सिट रहेको छ। ती सिटका लागि ६४ दलबाट कुल ३ हजार ४ सय २४ जना उम्मेदवारको नाम बन्द सूचीमा समावेश गरिएको छ।
बन्द सूची पेश गर्ने ६४ दलमध्ये ५४ दलले आफ्नै चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन् भने १० वटा दलले साझा चुनाव चिह्नमार्फत उम्मेदवारी दर्ता गराएका छन्। केही राजनीतिक दलहरूबीच एकता र सहकार्यको सहमति ढिलो भएको कारण रातिसम्म बन्द सूची पेश गर्ने कार्य भएको आयोगले जनाएको छ।
यसअघि समानुपातिक प्रणालीमा उम्मेदवारी दिन ९३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका थिए। प्राप्त बन्द सूचीहरूको सम्बन्धमा आयोगले आजदेखि पुस २० गतेसम्म छानबिन गर्ने कार्यतालिका बनाएको छ। छानबिनका क्रममा बन्द सूचीमा त्रुटि भेटिए वा आवश्यक कागजात अपुग भएमा पुस २१ देखि २७ गतेसम्म सच्याउने अवसर दलहरूलाई दिइनेछ।
त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म सच्याइएका कागजात र बन्द सूची पुनः जाँच गरिने आयोगले जनाएको छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि आगामी माघ २० गते समानुपातिक प्रणालीतर्फको अन्तिम बन्द सूची सार्वजनिक गरिनेछ।