काठमाडौं, २७ पुस । मधेश प्रदेश प्रमुख प्रा.डा. सुरेन्द्र लाभ कर्णले स्वर्गीय पत्रकार उमा सिंहले निर्भीक, निडर र प्रतिबद्ध पत्रकारिताको क्षेत्रमा बालिएको मशाल कहिल्यै ननिभ्ने बताएका छन् ।
मधेशी पत्रकार समाज नेपालद्वारा काठमाडौंमा आयोजित शहीद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवस तथा उमा सिंह पत्रकारिता सम्मान कार्यक्रम–२०८२ लाई सम्बोधन गर्दै उनले उमा सिंहले मधेशमा सत्य, न्याय र समानताका लागि सुरु गरेको संघर्षशील पत्रकारिताको परम्परालाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सामाजिक, राजनीतिक तथा महिला अधिकारका विषयमा निर्भीक कलम चलाउने उमा सिंह साहसी पत्रकार भएको स्मरण गरे ।
“उमा सिंह केवल एक पत्रकार मात्र होइनन्, उनी मधेशको आवाज थिइन्,” कर्णले भने, “मधेशमा महिला पत्रकारिताको आधार निर्माण गर्न उनको योगदान ऐतिहासिक छ र आज पनि प्रेरणाको स्रोत बनेको छ ।” सिंहले उठाएका मुद्दा र देखाएको साहसले मधेशका महिला पत्रकारलाई अघि बढ्न मार्ग प्रशस्त गरेको उनले बताए ।
कार्यक्रममा मधेशी पत्रकार समाज नेपालका पदाधिकारी, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, नागरिक समाजका प्रतिनिधि तथा स्व. उमा सिंहका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो । आफ्नो कर्तव्य निर्वाहकै क्रममा हत्या भएकी उमा सिंहको स्मृति दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, नेपाल टेलिभिजनकी स्वेता सिन्हा र नेपालगञ्जकी पत्रकार निलम शर्मालाई प्रदेश प्रमुख कर्णले उमा सिंह पत्रकारिता सम्मान प्रदान गरे ।
मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्मा, आमसञ्चार प्राधिकरणका संस्थापक अध्यक्ष श्यामसुन्दर यादव तथा सम्मानित पत्रकारहरूले उमा सिंहको व्यक्तित्व, उनको हत्या प्रकरण र मधेशका पत्रकारहरूको अवस्थाबारे विचार व्यक्त गरे ।



