त्रिशूली नदी किनारमा भेटिएको बसको अवशेष उत्खनन् जारी

मधेशलाइभ डेस्क । तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा भेटिएको बसको अवशेष आज पनि जारी रहेकाे छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण त्रिशूली नदीमा खसेको बसको अवशेष हिजो भेटिएपछि उत्खननको काम सुरु गरिएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हिजो दिनभर बसको उत्खनन कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। कार्यालयका अनुसार हिजो बिहान करिब १०ः४५ बजे त्रिशूली नदी किनारमा बसको अगाडिको केही भाग माटोमा गाडिएको अवस्थामा फेला परेको थियो।

उक्त बस वि.सं. २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस हुन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभएको छ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई जनाको र इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ।

घटनास्थलमा बस नदी किनारमा माटोमा धसिएको अवस्थामा भेटिए पनि पूर्ण रूपमा यकिन हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो। हाल धसिएको बसको उत्खनन तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस