राजविराज । पाठेघरको मुखको क्यान्सर निवारण तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्तरीमा विद्यालय केन्द्रित नियमित एचपीभी खोप कार्यक्रम सञ्चालनका लागि जिल्ला स्तरीय समन्वय बैठक आयोजना गरियो ।
स्वास्थ्य कार्यालय सप्तरीको आयोजनामा बिहीबार जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया तथा समन्वय बैठक आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिश कुमार यादवले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाको मृत्युका प्रमुख कारणमध्ये एक रहेको जानकारी दिए । उनका अनुसार २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने राष्ट्रिय लक्ष्य रहेको उल्लेख गर्दै उक्त लक्ष्य हासिल गर्न एचपीभी खोप कार्यक्रम मुख्य आधार हो । नेपालमा हरेक दिन औसत चार जना महिलाको मृत्यु यसै रोगका कारण हुने गरेको तथ्याङ्क छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) की प्रतिनिधि सरला न्यौपानेले पाठेघरको मुखको क्यान्सर, एचपीभी संक्रमण, खोपको प्रभावकारिता तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय खोप कार्यक्रमबारे जानकारी दिइन् । एचपीभी खोप विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त, सुरक्षित र प्रभावकारी रहेको बताउँदै उनले किशोरी अवस्थामा खोप लगाउँदा भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घट्ने जानकारी दिइन् ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाभर विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य खोप केन्द्र गरी ५८० खोप केन्द्रमार्फत ९ हजार ७८९ जना किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ । एचपीभी खोप अभियान माघ २५ गतेदेखि फागुन १० गतेसम्म दुई चरणमा सञ्चालन गरिनेछ । विद्यालय नजाने १०–१४ वर्ष उमेर समूहका किशोरी तथा विद्यालयमा अध्ययनरत कक्षा ६ का सबै किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिल्ला समन्वय समिति उपप्रमुख शम्भु यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला समन्वय अधिकारी कुन्दन कर्णलगायतको उपस्थिति थियो । वक्ताहरूले विद्यालय केन्द्रित खोप कार्यक्रम सफल बनाउन स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था र सञ्चारकर्मीबीच प्रभावकारी र निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिए ।