निर्वाचन क्षेत्र र विकासीय बजेटमा बेइमानी कायमै छः उपेन्द्र यादव

रुपनी (सप्तरी), २१ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र विकासीय बजेट विनियोजन नहुनु मधेशी जनताप्रतिको बेइमानी भएको बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २, पिपराहीमा बुधबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाँकी अधिकारका लागि अझैं पनि लडाइँ लड्नुपर्ने आवश्यकता औंल्याए । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका उनले भने ‘नेपालकै पहाडी जिल्लामा आठ दश हजार जनसङ्ख्यामा एक जना प्रतिनिधिसभा सदस्य हुने र मधेशमा डेढ लाखमा पनि एकैजना हुने असमानता कायमै छ, मधेशको जनसङ्ख्या करिब ६० प्रतिशत छ, विकासीय बजेट मात्र ११ प्रतिशत तथा मधेशबाट राजश्व ७० प्रतिशत लग्ने † यो मधेशी जनताप्रतिको बेइमानी हो ।’

देशमा मधेश जनविद्रोह नभएको भए मधेशीका साथै देशैभरिका महिला, दलित, थारु, आदिवासी, जनजाति, मुस्लिम, अल्पसङ्ख्यक तथा पछाडि पारिएका समुदायको सरकारी सेवा, राजनीतिक लगायतका क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित भएको अध्यक्ष यादवले स्मरण गरे । तत्कालिन मधेशी जनअधिकार फोरमसँगको सम्झौता पश्चात पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख गरी ३१ लाख नागरिकता विहिनले गाउँगाउँमा टोली मार्फत नागरिकता पाएको उल्लेख गर्दै सङ्घीयता उत्कृष्ट शासन व्यवस्था भएपनि अधिकार नदिएर कमजोर बनाएर गलत भाष्य निर्माण भइरहेको जसपा अध्यक्ष यादवले बताए ।

२००७, २०१७ र २०४६ सालको राजनीतिक परिवर्तनहरुमा मधेशी जनता बलिदानी दिँदैआएपनि त्यसपछि बनेका कांग्रेस एमालेको सरकारले मधेशीलाई शासित र शोषित मात्र बनाएको स्मरण गराउँदै उनले भने ‘अझैं विभेद समाप्त भएको छैन, सङ्घीयतामा आफ्नै प्रहरी, आफ्नै कर्मचारी आफ्नै न्यायालय, आफ्नै शासन प्रशासन हुनपर्ने थियो, तर सङ्घीयता विरोधीहरुले अधिकार नदिएर गलत भाष्य निर्माण गर्यो, सङ्घीयता विरोधीहरुलाई जनताले पहिचान गर्नु जरुरी छ ।’ संविधान संशोधन एवम् पुनर्लेखन गरेर आफ्ना हक अधिकारको सुनिश्चितताका लागि जनता समाजवादी पार्टी नेपाल थप मजबुत भएर प्रतिनिधिसभामा जानुपर्ने आवश्यकता औंल्याउँदै उनले भने ‘भुलभुलैया र भ्रममा नफँसौंँ, हामी शोषित उत्पीडित जाती एवम् समुदायका लागि कोही लड्ने छैन, हामीले आफ्नो लडाइँ आफैले लड्नुपर्छ ।’

बुधबारै रुपनी गाउँपालिकाको वडा नम्बर ४ को छपकी, भथौल, लक्ष्मीपुरमा समेत भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, जसपा नेता मुनीलाल खंग, दिलकुमारी चौधरी, पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, उपाध्यक्ष हरेराम यादव, सचिव जयनारायण यादव, चुल्हाइ मण्डल, निर्मला मण्डल, पूर्व उपमेयर बेचनी सरदार, रुपनी गाउँपालिका निर्वाचन परिचालन समितिका संयोजक रामानन्द ठाकुर, ओमप्रकाश महतो लगायतले मन्तब्य व्क्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस