राजविराज । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको कोशी पश्चिमी नहरको डिलको बाटो अब सडकका रूपमा निर्माण हुने भएको छ ।
जनता समाजवादी पार्टीका युवा नेता तथा पूर्व सांसद विदेश्वर यादव ‘विक्की’को निरन्तर पहलपछि सडक निर्माण प्रक्रिया अगाडि बढेको हो । भारत सरकारको जलसंसाधन विभागले नेपालस्थित कोशी पश्चिमी नहर तथा त्यससँगै सडक निर्माणका लागि मेघा इन्जिनियरिङ इन्फ्रास्ट्रक्चर लिमिटेडसँग सम्झौता गरेको छ । करिब ३४ अर्ब ८४ करोड २३ लाख ९० हजार ९ सय ८२ भारतीय रुपैयाँ लागतमा नहरसँगै डिलको बाटोसमेत निर्माण हुने जनाइएको छ ।

सप्तकोशी नदीबाट बग्ने उक्त नहरको डिलको बाटो लामो समयदेखि स्थानीयवासीले आवतजावतका लागि प्रयोग गर्दै आएका थिए । तर बाटो अत्यन्त जीर्ण बनेपछि वर्षायाममा हिलाम्मे र अन्य समयमा धुलाम्मे भई सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो ।
कोशी सम्झौताअनुसार नहरसँग जोडिएको सडक निर्माणको जिम्मेवारी भारत सरकारको भए पनि लामो समयसम्म ध्यान नदिइएपछि पूर्व सांसद यादवले पहल थालेका थिए । उनले चार वर्षअघि देखि भारतीय नेता तथा अधिकारीहरूको ध्यानाकर्षण गराउँदै आएका थिए ।
नेता एवम् पूर्व प्रदेश सांसद यादव बिहारको राजधानी पटना पुगेर भारतीय संसदअन्तर्गत तत्कालीन जलसंसाधन विभागका अध्यक्ष तथा केन्द्रीय सांसद संजय जयसवाल, बिहारकी तत्कालीन उपमुख्यमन्त्री रेणुदेवीलगायतसँग भेटघाट गरी नहरको सडक तत्काल निर्माण गर्न आग्रह गरेका थिए । उनले सन् २०७९ मै नेपालस्थित भारतीय दूतावाससँग औपचारिक पत्राचार गर्दै सडक निर्माणका लागि निरन्तर दबाब दिँदै आएका थिए । भारत सरकारले कोशी सम्झौता कार्यान्वयन नगरेको भन्दै सप्तरीका सीमावर्ती क्षेत्रका बासिन्दाले पटक–पटक आन्दोलन र प्रदर्शनसमेत गर्दै आएका थिए ।
सडक निर्माण प्रक्रिया अगाडि बढेसँगै स्थानीयवासिन्दाले वर्षौंदेखि झेल्दैआएको समस्या समाधान हुने भएपछि पूर्व प्रदेश सांसद यादवले खुशी व्यक्त गरेका छन् । आफु जनताकै बिचमा रहेर सुख–दुःखमा साथ रहँदै सेवा गर्दैआएको र आगामी समेत गरिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।
