प्रधानमन्त्रीको गैर जिम्मेवार बोली

रोशन जनकपुरी

उनलाई पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्रको नाममा चेतावनीको भाषा प्रयोग गरेको सह्य छ । राप्रपाले राजतन्त्र जस्तो गैर गणतान्त्रिक एजेन्डामा चुनाव लड्नु र प्रचार गर्नु पनि सह्य छ । तर मन न परे चुनाव बहिष्कार गरेको सह्य छैन। उनले चुनाव बहिष्कारलाई चन्दा असुलीको धन्दाको रुपमा हेर्छिन् । यसलाई अबूझपना भनौँ कि सत्ताको सर्वाधिकारी अहंकार ! उनलाई थाहा हुनुपर्छ यस बहिष्कार अभियानमा यस गणतन्त्रको विधी र चरित्रसँग चित्त न बुझेका ती राजनीतिक नेताहरू छन् जसले यसको निम्ति पुरानो राज्यसत्तासँगको लडाँइ माओवादी जनयुद्ध तथा कम्युनिस्ट आन्दोलनमा निर्णायक र महत्वपूर्ण नेतृत्व गरेका थिए, गरिरहेका छन् । जसले जनवादी उद्देश्य र कम्युनिस्ट आदर्शको निम्ति जीवन खपाए । उनले कमरेड मोहन वैद्य किरण, सुदर्शन, धर्मेन्द्र वास्तोला, परी थापा, आहुती आदिको बारेमा थाहा पाएकै हुनुपर्छ।

हुन त वर्तमान प्रधानमन्त्रीको जीवन कानुन र न्यायको पेशामा बित्यो। तर उनको श्रीमान पंचायती निरंकुश शासन विरुद्ध नेपाली कांग्रेसको गरम दलको राजनीति गरेको र प्लेन हाइज्याक गरेर बैकको रकम लुट्ने काम समेतको नेतृत्व गरेका थिए। निश्चय यो क्रान्तिकारी राजनीतिक कर्म थियो। आज यसप्रति उनलाई पनि गर्व होला नै । उनी (प्रधानमन्त्री) नेकासँगै वाम राजनीतिक नेताहरूसँग पनि निकट थिइन्, शायद छिन् पनि। त्यसैले कमरेड किरण लगायतका चुनाव बहिष्कार गर्ने कम्युनिस्ट नेता सँग अपरिचित छिन् भन्ने लाग्दैन।

उनले बहिष्कारको राजनीतिपनि बुझेकी छन्। पंचायतकालमा उनी निकटको नेपाली कांग्रेसले पनि चुनाव बहिष्कार गरेकै थियो। यस्तोमा चुनाव बहिष्कार गर्ने राजनीतिक दलहरूलाई ‘साना’ (तुच्छताको शैलीमा) र ‘चन्दा असुलीको धन्दा’ गर्ने आपराधिक स्तरमा सम्बोधन उचित होइन।

उनले र उनलाई मन पराउने रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको घोषित उम्मेदवारले ब्लैकलिस्टेड ठेकेदारले दिएको करौडौँको गाडी कुदाएर भोट माँगेको, रोड सो गरेको सह्य छ । चुनावमा निर्वाचन आयोगको निर्देशन उल्लंघन गरेर उम्मेदवारहरुले करोडौँ खर्च गरेको देखिँदैन। तर चुनाव बहिष्कारको अभियानलाई उनले चन्दा असुली देख्न पुग्छिन्। चुनावमा भाग लिनु, नलिनु वा भोट हाल्नु, न हाल्नु सम्विधान प्रदत्त अधिकार हो । वस्तुतः प्रधानमन्त्रीको यो बोली वर्तमान राज्यसत्ताको चरित्र हो, जो अझै कम्युनिस्ट विरोधी छ र अझै जनवादी चरित्र ग्रहण गर्न सकेको छैन।

जनवाद वा लोकतन्त्र भनेको निर्वाचन मात्र होइन, बहुसंख्यक जनताको अधिकार र सहभागिता सुनिश्चित हुने व्यवस्था र विधि हो। वर्तमान निर्वाचन धनिक वर्ग पहिलो हुने चरित्र र परिणामको विधि हो । चुनाव बहिष्कार गर्ने कम्युनिस्ट पार्टीहरुले यसैलाई नंग्याइरहेका छन्। प्रधानमन्त्रीको भनाईमा यही तिक्तता पोखिएको छ । होइन भने ज्ञानेन्द्र सह्य हुने, गैर गणतान्त्रिक पार्टीहरु सह्य हुने, तर जनवादी तर्क सहित चुनाव बहिष्कार गर्न भनिरहेका कम्युनिस्ट पार्टीहरु सह्य न हुने ? पार्टीको आकार सानो ठूलो हुनु एउटा कुरा भयो, यसै आधारमा हेप्न पाइन्छ? कि उनीहरूले उठाएको विषयलाई सम्बोधन गर्नुपर्छ ? तर्क छ भने खण्डन गर्नु पर्छ ?

हक्की, स्वाभिमानी र उदार तार्किक मानिएकी प्रधानमन्त्री सुशीला कार्की यस प्रसंगमा चुकेकी छिन्। आखिर उनीपनि त्यसै राजकीय धनिक समाजकै उपज न छिन् !

जनवाद वा लोकतन्त्रले मन परे भोट हाल्ने, र मन न परे भोट बहिष्कार गर्ने, दुबै अधिकार दिन्छ।

Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस