लहान, ८ चैतः खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको लहान नगरपालिका–१६ स्थित तरेगना खानेपानी आयोजना अन्ततः औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना आज विश्व पानी दिवसको अवसरमा उद्घाटन गरिएको हो।
वि.सं. २०५६ मा दुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरिए पनि बोरिङबाट पानी नआएपछि आयोजना सञ्चालन हुन सकेको थिएन। गत वर्ष डिभिजन कार्यालयले बाँकी कामको जिम्मेवारी नेपाल खानेपानी संस्थान, लहान शाखालाई हस्तान्तरण गरेपछि आयोजनाले गति लिएको हो।
‘वाटर एड’ नेपालको आर्थिक सहयोग तथा दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थानको साझेदारीमा सञ्चालित ‘विकन परियोजना’ अन्तर्गत करिब ६० लाख रुपैयाँ लागतमा एक वर्षभित्रै जीर्ण संरचनाको मर्मत तथा नयाँ बोरिङ जडान गरी आयोजना सम्पन्न गरिएको छ।
नेपाल खानेपानी संस्थान लहानका प्रमुख राकेश गोइतका अनुसार अघिल्ला दुई बोरिङ असफल भएपछि यसपटक करिब दुई किलोमिटर टाढाबाट पानी ल्याउने व्यवस्था मिलाइएको छ। हाल २१ घरधुरीमा पानी वितरण सुरु भइसकेको छ भने छिट्टै लहान–१६ र १७ का करिब पाँच सय परिवारमा पाइपलाइन विस्तार गर्ने लक्ष्य रहेको छ।
स्थानीय तहमा २६ वर्षदेखि आयोजनाको पहल गर्दै आएका वडा अध्यक्ष गडुल बहादुर जर्घा मगरले आयोजना सञ्चालनमा आएसँगै स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाउने विश्वास व्यक्त गरेका छन्।
आयोजना पूर्ण क्षमतामा सञ्चालन भएपछि लहानका दुई वडाका बासिन्दालाई स्वच्छ पिउने पानीको पहुँच सहज हुने अपेक्षा गरिएको छ।