बालेनले प्रधानमन्त्रीको शपथ शुक्रबार १२ः३४ बजे मुहुर्तमा लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले आगामी चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। शुक्रबार मध्याह्न १२ः३४ बजे पद तथा गोपनीयताको शपथग्रहण हुने गरी साइत तय गरिएको हो।

शपथ समारोहलाई भव्य र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकद्वारा स्वस्तिवाचन गरिनेछ। साथै बौद्ध परम्पराअनुसार १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रम तय गरिएको छ। यसलाई धार्मिक तथा सांस्कृतिक सहअस्तित्वको सन्देश दिने प्रयासका रूपमा हेरिएको छ।

स्रोतका अनुसार उक्त समयलाई ज्योतिषीय रूपमा पनि अनुकूल मानिएको छ। सो दिन रामनवमी परेकाले समारोहको प्रतीकात्मक महत्व अझ बढ्ने अपेक्षा गरिएको छ। ज्योतिषविद्हरूले उक्त समय अभिजित मुहूर्त नजिक पर्ने भएकाले नयाँ जिम्मेवारी आरम्भका लागि शुभ रहेको बताएका छन्।

शपथग्रहणपछि बालेन शाहले दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै एकल सरकार गठन गर्ने स्पष्ट बहुमत प्राप्त गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस