श्यामसुन्दर यादव
राजविराज । बद्लिदो परिवेशसँगै ओझेलमा परेका सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनीका लोकगाथा महराइ गायक सातैन राम यतिबेला अभ्यासमा जुटेका छन् ।
विगत सात वर्षदेखि गाथा गायन छाडिसकेका उनलाई धनुषाको परवाहामा आयोजना हुन लागेको परवाहा लोकसंस्कृति उत्सव २०८२ का लागि निम्तो आएपछि उनी तयारीमा जुटेका हुन् । युवा नाट्यकला परिषद्ले उनलाई चैत्र ३० गते दिनाभद्री गायन प्रस्तुतिका लागि आमन्त्रित गरेका छन् ।
बढ्दो आधुनिकतासँगै प्रविधि र वैकल्पिक मनोरञ्जनका साधन प्रयोगतर्फ युवा पुस्ताको आकर्षण बढ्दो क्रममा रहेकोले दर्शक तथा श्रोता नै नपाएपछि उनी गाथा गायन छाडेका थिए । उनको आवाजमा साथ दिने ओरनी र मृदङ्ग समेत टुटफूट भई प्रयोग विहिन अस्थामा थियो । प्रस्तुतिका लागि आमन्त्रण आएको थाहा पाएपछि उनी खुशी भए तर वाद्यवादन बनाउन खर्च नभएको भन्दै चिन्तित थिए । उक्त विषयमा परिषद्का अध्यक्ष अनिल कुमार मिश्रलाई जानकारी गराएपछि मर्मत खर्च आफुहरुले व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि उनी खुशी भए ।
वर्षौंदेखि टुटफूट भई विग्रेका वाद्यवादन बनाएर उनी कार्यक्रममा प्रस्ततिका लागि तयारीमा जुटेका छन् । ओरनी मर्मत भईसकेको र मृदङ्ग समेत तयारी हुने क्रममा रहेको बताउँदै सातैनले भने ‘माता जानकी जन्मभूमि जनकपुरधामबाट बोलाहट आएकोले नाइँ भन्न सकिनँ, छाडिसकेको गाथा गायनमा फेरी फर्किन्छु भने सोचेको पनि थिएन ।’
करिब २० वर्षको युवा उमेरबाट गाउन थालेका उनले करिब साढे पाँच दशक लोक गायनमै बिताएका उनी अक्षर चिन्दैन तर चार रात गाउन पुग्ने दिनाभद्री गाथा भने कण्ठस्थै छ । यस्तै सलहेश गाथा समेत दुई रात गाउनसक्ने जति यादै छ । मृदङ्ग र ओरनी भएपछि आफै कण्ठमा सबै प्रसंगहरु याद आउने गरेको उनले बताए ।

सिनेमा, टेलिभिजन इत्यादि प्रचलनमा नरहेको अवस्थामा मनोरञ्जनको रुपमा विभिन्न अवसरहरुमा आफूले नेपाल तथा भारतका विभिन्न स्थानहरुमा गाथा गायन प्रस्तुत गरेको उनले स्मरण गरे । त्यतिबेला केही स्थानहरुमा जातकै कारण विभेद गर्ने गरेको तथा गायनको पारिश्रमिक समेत नदिएको तीतो अनुभूति समेत उनीसँग छ ।
पछिल्लो समय हातहातमा मोबाइल रहेकाले आफुहरुका गायन मन पराउने दर्शक तथा श्रोताहरु भेट्न मुश्किल रहेको बताउँदै उनले भने ‘अचेल मोबाइलमै संसार छ, अहिलेका पुस्तालाई लोकगाथाबारे थाहा पनि छैन, जबसम्म बाँच्छु तबसम्म गाथाहरु कण्ठमा जीवन्त रहन्छ, मरेपछि सबै सँगै जाने हो ।’
आफुहरु जस्ता ग्रामिण गाथा गायकहरु वर्तमान अवस्थामा महत्वहीन बन्न पुगेको गुनासो गर्दै ७५ वर्षिय सातैनले भने ‘धेरैलाई सिकाउने प्रयास गरेँ तर कसैले पनि सिकेनँ, प्रायः गाथा गायकहरु संसार छाडिकेका छन्, उनीहरुको कला र प्रतिभा हस्तान्तरण हुन सकेन ।’ कार्यक्रममा प्रस्तुति दिएर फर्केर पुनः आफुले गाथा गायनलाई अगाडि बढाउनुका साथै कलाकै माध्यमले समाजमा जागरण ल्याउने उनले विश्वास व्यक्त गरे ।
(भिडियो)
