धनुषाकी रुवी ठाकुर उपसभामुख बन्ने पक्का

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्।

सरस्वती लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही रहेका छन् भने समर्थकमा ताहिर अली भाट, खुस्बु ओली र भरत गिरी रहेका छन्। यस्तै, रुवी कुमारी ठाकुरको प्रस्तावकमा आरेन राई रहेका छन् भने समर्थकमा अशोक कुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेका छन्। संघीय संसद् सचिवालयले उक्त जानकारी दिएको हो।

सचिवालयको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उपसभामुख पदमा निर्वाचित गरिने प्रस्ताव दर्ताका लागि समय तोकिएको थियो।

संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक–फरक दल तथा फरक लिङ्गबाट हुनुपर्ने प्रावधान रहेको छ। यसअघि चैत २२ गतेको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल निर्विरोध रूपमा सभामुखमा निर्वाचित भएका थिए।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता मनिष झाले ठाकुरको समर्थकमा अशोक कुमार चौधरी रहने जानकारी दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस