काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यासमा मात्र सीमित नराखी राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औंल्याएका छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् द्वारा काठमाडौँमा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’ को उद्घाटन समारोहमा उनले प्रमाण–आधारित नीति निर्माणलाई सुदृढ बनाउन सबै पक्षबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् । उनले स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसंख्या–स्वास्थ्य प्रवृत्ति तथा सामाजिक–आर्थिक प्रभावबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्ने बताए ।
उपराष्ट्रपति यादवले नसर्ने रोगहरूको बढ्दो बोझ, जलवायु परिवर्तनका प्रतिकूल असर तथा भौगोलिक र सांस्कृतिक विविधताबाट उत्पन्न असमानता जस्ता चुनौतीहरूको सामना गर्न अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
“परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ,” उनले भने “अनुसन्धानका नतिजालाई केवल शैक्षिक प्रकाशनमा सीमित नराखी नीति, कार्यक्रम र कार्यान्वयनमा प्रत्यक्ष प्रयोग गर्न सक्नुपर्छ।”