काठमाडौं । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित सम्पन्न सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ मा फेसन तथा पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान गरिएको छ।
राजधानीस्थित राष्ट्रिय नाचघर जमल मा आयोजित उक्त कार्यक्रममा उनलाई मोडलिङ क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। संगीत तथा ग्ल्यामर क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा झाको कामप्रति खुलेर प्रशंसा गरिएको थियो।
सम्मान ग्रहण गर्दै झाले आफूले मोडलहरूलाई केवल आकर्षक देखिनेमात्र होइन, प्रभावकारी प्रस्तुति र आत्मविश्वासका साथ अभिव्यक्ति दिन सक्षम बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताए। “यस सम्मानले अझ जिम्मेवारी थपिएको महसुस भएको छ,” उनले भने।
लामो समयदेखि मोडलहरूलाई तालिम, ग्रुमिङ तथा व्यक्तित्व विकासमा सक्रिय रहेका झाले तयार पारेका मोडलहरू र्याम्प, फोटोसुटदेखि म्युजिक भिडियोसम्म प्रभावकारी रूपमा प्रस्तुत हुँदै आएका छन्। उनका प्रशिक्षार्थीहरू क्यामेराअघि र पछाडि दुवै क्षेत्रमा सक्षम हुने भएकाले निर्देशकहरूका लागि समेत सहज हुने गरेको बताइन्छ।
कार्यक्रममा वरिष्ठ सितार वादक विजया शर्मा लाई नगदसहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। यस्तै वरिष्ठ पत्रकार ध्रुव लम्साल लाई ‘सगरमाथा कला पत्रकारिता रजत सम्मान’, सञ्चारकर्मी शिरोमणि दवाडी लाई रेडियो पत्रकारिता सम्मान प्रदान गरियो।
त्यसैगरी गीतकार खेमनाथ दाहाल, लोकराज अधिकारी लगायतका स्रष्टा तथा समाजसेवीहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। कार्यक्रममा संगीत क्षेत्रका उत्कृष्ट स्रष्टा तथा कलाकारहरूलाई विधागत प्रतिस्पर्धाअन्तर्गत पुरस्कारसमेत वितरण गरिएको आयोजकले जनाएको छ।