रोशन जनकपुरी
प्रतिनिधि सभाको नव चयनित उपसभामुख रुवी कुमारी ठाकुर को आमा बाबू जनकपुरका जग्गाधनीको जग्गा बटैयामा लिएर खेती गर्छन्। निम्नमध्यम वर्गीय सामान्य परिवारकी छोरी रुवी ठाकुर उपसभामुख सम्म पुग्न पाउनु गणतन्त्र र लोकतन्त्रको दृष्टिले सुखद् छ । कैंयौं अर्थमा यो उदाहरणीय पनि छ ।
नेपालमा भएका राजनीतिक संघर्षको निहितार्थ पनि सत्ता संरचनामा गरिब र निम्नवर्गीय समुदायको उपस्थिति हो। तर यो (रुवी कुमारीको चयन) सत्ता निर्माणमा निर्णायक स्थिति होइन। आफूहरु लोकप्रिय देखिन अभिजात्यीय शासक वर्गले रुवी कुमारी ठाकुरको चयन गरेकाे हाे । रुवी कुमारी ठाकुर जस्ता निम्नमध्यम र गरिब श्रमजीवी वर्गको सत्तामा भागीदारीको कुनै नीतिगत प्रावधान सम्विधानमा समेत छैन। त्यसैले प्रशंसायोग्य भएपनि यो ‘निगाह’ नै हो । रुवीको वर्गलाई ‘निगाह’ होइन, न्यायिक र अधिकारयुक्त हिस्सेदारी चाहिन्छ।
नेपाली समाजको वर्ग संरचनामा गरिब श्रमजीवी र निम्नमध्यम वर्ग बहुमतमा छन्। यस अनुपातमा सत्तामा यस वर्गको उपस्थिति सबैभन्दा न्यून छ। जनवाद वा लोकतन्त्रको दृष्टिले सत्तामा सबैभन्दा बढी हिस्सेदारी यसै वर्गको हुनू पर्ने हो ।
उपसभामुख रुवी कुमारी ठाकुर वैचारिक सचेत छिन् भने उनले सत्तामा आफ्नो वर्गको निर्णायक उपस्थितिको निम्ति प्रयत्न गर्नेछिन्। यद्यपि यो सजिलो छैन र यो मूलत: संघर्षको बाटो हो ।
सम्विधान र सत्ता वर्गीय आधारमा पूर्ण समानुपातिक नभएसम्म यसलाई न त पूर्ण जनवादी भन्न सकिन्छ, न त समाजवाद उन्मुख नै भन्न सकिन्छ।
तरपनि रुवी कुमारी ठाकुरलाई उपसभामुखमा चयनको प्रशंसा गर्नु उचित हुनेछ। नव चयनित उपसभामुख रुवी कुमारी ठाकुरलाई बधाई । Source: facebok