हेटौँडा सिमेन्ट उद्योगमा उत्पादन बन्द

मधेशलाइभ । हेटौँडा सिमेन्ट उद्योगमा कोइलाको अभावका कारण आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा बन्द भएको छ। उद्योगले आवश्यक कच्चा पदार्थको आपूर्ति नहुँदा उत्पादन प्रक्रिया रोक्नुपरेको जनाएको छ।

करिब एक महिना अघिमात्र नियमित सञ्चालनमा आएको उद्योग फेरि कोइला अभावका कारण प्रभावित बनेको हो। उद्योग व्यवस्थापनका अनुसार हाल उत्पादनका लागि आवश्यक कोइलाको मौज्दात सकिएपछि उत्पादन बन्द गर्नुपरेको हो। उद्योगले करिब ३ हजार मेट्रिक टन कोइला खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ। खरिद प्रक्रिया अगाडि बढिसकेको र करिब दुई हप्ताभित्र कोइला आइपुग्ने अपेक्षा गरिएको उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार कोइला प्राप्त भएपछि यसको गुणस्तर परीक्षण गरिनेछ र परीक्षण नतिजा अनुकूल भएमा मात्रै पुनः उत्पादन सुरु गरिनेछ। उत्पादन बन्द हुँदा बजारमा सिमेन्ट आपूर्तिमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ। निर्माण क्षेत्रले यसबाट थप चुनौती भोग्नुपर्ने देखिएको छ। उद्योगले यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन रूपमा कच्चा पदार्थ आपूर्तिको व्यवस्थापन गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
सरकारी स्वामित्वको यो उद्योगले देशको निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। उत्पादन अवरुद्ध हुँदा बजारमा सिमेन्टको अभाव र मूल्यवृद्धिको सम्भावना समेत बढ्न सक्ने देखिएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस