प्रधानमन्त्री बालेनको शुभकामना सन्देश ‘नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

मधेशलाइभ । प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा भावुक शुभकामना सन्देश व्यक्त गर्दै सम्पूर्ण आमाप्रति सम्मान, कृतज्ञता र नमन प्रकट गरेका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश सार्वजनिक गर्दै “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने श्लोक उल्लेख गरेका छन्। उक्त श्लोक उद्धृत गर्दै उनले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने धारणा व्यक्त गरेका छन्।

उनले आमाको काखलाई न्यानो आश्रय र आमाको चरणलाई तीर्थजस्तै पवित्र भएको उल्लेख गर्दै आमा माया, त्याग र समर्पणको अनुपम उदाहरण भएको बताएका छन्। सन्देशमा उनले सम्पूर्ण आमाहरूलाई सृष्टिको मुहानका रूपमा व्याख्या गर्दै उनीहरूप्रति गहिरो सम्मान प्रकट गरेका छन्।

प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु तथा अनन्त ममताको स्रोतका रूपमा चित्रण गर्दै सबै आमाहरूको दीर्घायु, सुस्वास्थ्य र सुख-समृद्धिको कामना गरेका छन्। साथै, उनले सन्तानहरूले आफ्ना आमालाई सधैं खुशी राख्नुपर्ने र आफ्नो कर्ममार्फत आमाको शिर उच्च बनाउनुपर्ने सन्देश दिएका छन्।

‘आमाको मुख हेर्ने दिन’ का रूपमा मनाइने मातातीर्थ औँसीको महत्त्व उल्लेख गर्दै उनले यस पर्वले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहले “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्दै राष्ट्रप्रतिको गहिरो माया र समर्पण प्रकट गरेका छन्। उनले सबै आमाहरू र सम्पूर्ण नेपाली नागरिकको जीवनमा खुशी, शान्ति र समृद्धिको कामना गर्दै मातातीर्थ औँसीको हार्दिक मंगलमय शुभकामना दिएका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस