काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्सप्रेस गाडी’ जस्तै भएकाले निर्धारित गन्तव्यमा नपुगेसम्म नरोकिने बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारको गति अनियन्त्रित भएको भन्दै भइरहेका टिप्पणीप्रति संकेत गर्दै भने, “हाम्रो सरकार एक्सप्रेस वेमा गुडिरहेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ।”
उनले विभिन्न राजनीतिक दलका नेताहरूले दिएका सुझावलाई पार्टीले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै जनताले दिएको जनमतलाई स्वीकार गर्न सबैलाई आग्रह गरे। रास्वपाको वैचारिक दिशाबारे अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै उनले पार्टीलाई विकासवादी शक्तिका रूपमा प्रस्तुत गरे।
प्रधानमन्त्री शाहले सरकारी सम्पत्ति र सार्वजनिक रकमको दुरुपयोगप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पार्दै कानुनको दायराभित्र रहेर काम गरिने बताए। “सरकारले नियम तोड्दैन, नियमभित्रै रहेर काम गर्छ,” उनले भने।
उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अभिन्न भूभाग रहेको दोहोर्याउँदै त्यसका पर्याप्त प्रमाण सरकारसँग रहेको बताए। सीमासम्बन्धी विषय छिमेकी मुलुकसँग आपसी संवादमार्फत समाधान गरिने उनको भनाइ थियो।
पार्टीभित्र गुट–उपगुटको राजनीति स्वीकार्य नहुने स्पष्ट गर्दै प्रधानमन्त्री शाहले पुराना दलको अभ्यासलाई रास्वपाले स्थान नदिने बताए। उनले यही कार्यकालमा सुकुम्बासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गरेका थिए। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले महाधिवेशनको सफलताको कामना गरे।
उनीहरूले छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल भएको भन्दै रास्वपालाई जनअपेक्षा अनुसार काम गर्न सुझाव दिए। वर्तमान सरकारले गरेका सकारात्मक कामप्रति समर्थन रहने धारणा समेत व्यक्त गरे।