सीताराम बराल

गणतन्त्र स्थापनाको आन्दोलनमा आजको दिन विशेष दिन हो। गणतन्त्रवादी नेता रामराजाप्रसाद सिँह नेतृत्वको नेपाल जनवादी मोर्चाले ४३ वर्षअघि आजैका दिन, ६ असार २०४२ मा नारायणहिटी राजदरवारको पश्चिम र दक्षिण गेट, सिंहदरवारस्थित तत्कालिन राष्ट्रिय पन्चायत भवन लगायत देशव्यापी रुपमा बम विस्फोटनमार्फत् गणतन्त्रका लागि औपचारिक रुपमा सशस्त्र संघर्ष सुरुवात भएको घोषणा गरेका थियो।
सप्तरीको हनुमाननगर जेलमा थुनिएका भारतीय स्वतन्त्रता सेनानीहरु राममनोहर लोहिया र जयप्रकाश नारायणलाई रिहा गराउन भएको आक्रमणको अभियोगमा बाबु जयमंगल प्रसाद सिंहसँगै पक्राउ परेका ९ वर्षीय रामराजाप्रसाद सिंहमा त्यतिबेलैदेखि पारिवारिक शासनविरुद्ध घृणा सिर्जना भएको थियो। साथमा उनका ७ वर्षीय भाई लक्ष्मणप्रसाद सिंहपनि जेल परेका थिए। पारिवारिक शासनविरुद्ध त्यहीबेला उत्पन्न घृणाले उनलाई किशोर उमेरदेखि नै गणतन्त्रवादी बनायो।
रामराजाप्रसाद सिंह १ पुष २०१७ को घटनालाई ‘कू’ ठान्थे। यस्तो धारणा राख्ने उनलाई बिसं २०२४ मा स्नातकतर्फबाट राष्ट्रिय पन्चायतको चुनाव लड्न दिइएन, उम्मेदवारी नै रद्द गरियो। २०२८ मा भने ‘यसले जित्दैन’ भन्ने विश्लेषणका साथ चुनाव लड्न दिइयो तर उनले सहज रुपमा जित हासिल गरे। त्यसपछि भने उनलाई राष्ट्रिय पन्चायतमा शपथग्रहण गर्न नदिई पक्राउ गरियो।
राजा महेन्द्रले २–३ पटक कारागारबाटै लगेर सिंहलाई फकाउने कोशिष गरे, गणतन्त्रको बाटो छाडेर आफूलाई सहयोग गर्न आग्रह गरे। उनलाई प्रधानमन्त्री पदको अफर समेत गरियो। तर, रामराजा प्रसाद सिंह झुकेनन्। बरु उनले आफू ‘विकाउ माल’ नभएको सन्देश दिन राजा महेन्द्रलाई यो हिन्दी सायर सुनाए :
नोट हरा हो या नीला
चेकबुक लाल हो या पीला
कह दो उसे जो खरिदने आए
हर इन्सान बिकाउ नही होता
राजा महेन्द्र उनीसँग खुब रिसाए, जीवनभर जेलमा सड्नुपर्ने चेतावनी दिए। तर, केही दिनपछि उनी आफैले सिंहको मुद्दा फिर्ता गरेर रिहा गरिदिए।
गणतन्त्रवादी भएकोमा राजा महेन्द्र रामराजाप्रसाद सिँहसँग आक्रोसित थिए। तर, रामराजाप्रसाद सिंहको सिद्धान्तनिष्ठताको उनी सम्मानपनि गर्थे। आफूसँग असहमत भएपनि यो मान्छे सैद्धान्तिक हिसावले इमान्दार र राष्ट्रवादी हो भन्ने मूल्याङ्कन सायद राजा महेन्द्रले गरे।
गणतन्त्रको पक्षमा भएकाले पछि दरबारियाहरुले रामराजाप्रसाद सिंहलाई भारतपरस्त करार गर्न खोजे, २०४२ को बम विस्फोटनपछि कांग्रेसले ‘दरबारको योजनामा भएको’ भन्दै बदनाम गर्न खोज्यो।
आफ्नो भूराजनीतिक स्वार्थका लागि दरबारसँग निकटताका लागि बहानाको खोजीमा रहेको भारतीय सत्ताले त उनलाई पक्राउ गरी समुद्र नै कटायो। तर, रामराजाप्रसाद सिंह विशुद्ध गणतन्त्रवादी थिए। उनमा नेपालप्रतिको मायाँ र नेपाली हुनुप्रतिको निकै उच्च गौरव थियो, जो उनको उनको आत्मकथा ‘गणतन्त्रका लागि संघर्ष’ बाट जानकारी पाउन सकिन्छ।
शाहबंशका पुर्खाहरु सयौँ वर्षअघि भारतबाट आएकाले उनी शाहबंशलाई ‘विदेशी राजतन्त्र’ ठान्थे। शाहबंश नेपालको सत्तामा हिंसाद्वारा आएकाले टिक्नका लागि पनि हिंसाको सहारा लिइरहेको छ भन्ने उनी ठान्थे।
पन्चायतकालमा भएका दुर्गानन्द झा, दिवानसिंह राई लगायतहरुको हत्या उनको यो विश्लेषणका आधार थिए। यसका बाबजुद व्यक्तिगत तबरमा भने उनी राजा महेन्द्रलाई सम्मान गर्थे। उनी भन्थे, ‘कम्तिमा हिरासतबाटै लगेर भएपनि राजा महेन्द्रले मेरा कुरा सुने । हिरासतबाट एउटा गणतन्त्रवादीलाई नारायणहिटी लगेर मध्यरातसम्म उसले गणतन्त्रको पक्ष र राजतन्त्रको विपक्षमा गरेको तर्क सुन्नु सामान्य कुरा थिएन।’
‘महेन्द्रले मेरो कुरा सुने तर राजा वीरेन्द्रले त व्यवस्थाविरोधीहरु निर्वाचित भए भनेर राष्ट्रिय पन्चायतको स्नातक कोटा नै खारेज गरे’ कुराकानीका क्रममा सिंहले गर्ने राजा महेन्द्र र राजा वीरेन्द्रप्रतिको यो तुलनात्मक विश्लेषण मलाई गजब लाग्थ्यो, ‘त्यसैले, राजा वीरेन्द्र र महेन्द्रमध्ये मलाई महेन्द्र नै अलिक राजनीतिक प्रकृतिका हुन् भन्ने लाग्छ।’
उनलाई महेन्द्रकै पालामा २०२८ मंसिरमा राष्ट्रिय पन्चायत सदस्यबाट निकालिएको थियो। यसलाई उनले स्वभाविक रुपमा लिएका थिए। तर, व्यवस्थाविरोधीहरु निर्वाचित भएर भनेर स्नातक क्षेत्र नै खारेज गर्ने राजा वीरेन्द्रको निर्णयलाई उनले निको मानेनन्।
बिसं २०३६ को जनमत संग्रहमा बहुदलीय जनवादी मोर्चा स्थापना गरेर बहुदलको पक्षमा प्रचार गर्दै हिँडेका रामराजाप्रसाद सिंहलाई नेपालगन्जमा पक्राउ गरी जनमत संग्रह अवधिभर जेलमा राखियो। जनमत संग्रहमा बहुदलको पक्षमा समेत प्रचार गर्न नदिइएपछि उनले राजतन्त्र विरुद्ध सशस्त्र संघर्षको विकल्प देखेनन्। त्यसपछि बहुदलीय जनवादी मोर्चालाई ‘नेपाल जनवादी मोर्चा’ मा परिणत गरी उनी सशस्त्र संघर्षको तयारीमा लागे।
२०४२ मा गणतन्त्रका लागि सशस्त्र संघर्षको उद्घाटनस्वरुप गरेको बम विस्फोटनको पृष्ठभूमि यही थियो। उनका पिता जयमंगलप्रसाद सिंह सप्तरी–सिरहाका जमिन्दार थिए, राणाकालमा उनको सयौँ विगाह जग्गा–जमिन थियो। त्यही आफ्नो पुर्ख्यौली सम्पत्ति बेचेर उनले सशस्त्र संघर्षको तयारी गरे। संघर्षका लागि उनले कहिल्यै कतैबाट चन्दा लिएनन्। त्यति धनी परिवारका रामराजाप्रसाद सिंहका पुत्रद्वय आर्थिक हिसावले अहिले सामान्य अवस्थामा छन्।
यसरी पुख्र्याैली सम्पत्ति बेचेर सशस्त्र संघर्षको तयारी गरेका रामराजाप्रसाद सिंहले तयार पारेका छापामारहरुले ४३ वर्षअघि ६ असारका दिन दिन नारायणहिटी दरवारको पश्चिम र दक्षिण गेट, ग्यालरी बैठक राष्ट्रिय पन्चायत भवन (ग्यालरी बैठक) आदिमा विस्फोट गराई गणतन्त्रका लागि आन्दोलनको शंखनाद गरे।
त्यो बम विस्फोटको उद्देश्य खासमा कसैको हत्या गर्नु थिएन। खासमा विस्फोटनमार्फत् उनी राजतन्त्रलाई चेतावनीमात्र दिन चाहन्थे। त्यसैले, ग्यालरी बैठकको गेटमा ५ असारमा होइन, ६ असारमा मात्र विस्फोटनका लागि आफ्ना छापामारहरुलाई निर्देशन दिए। किनकी, ५ असारका दिन राष्ट्रिय पन्चायतमा राजा वीरेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो।
ग्यालरी बैठकको गेटमा भएको विस्फोटनमा तत्कालिन राष्ट्रिय पन्चायतका सदस्य डम्बरजङ्ग गुरुङ्ग र अर्का एक सरकारी कर्मचारीको निधन भयो। होटल अन्नपूर्णमा भएको विस्फोटनमा ३–४ जनाले ज्यान गुमाए।
खासमा होटल अन्नपूर्णमा विस्फोटनका लागि टाइम बम सहितको सुटकेस बाहिर चउरमा राखिएको थियो। तर, त्यहाँका कर्मचारीले त्यो सुटकेस कसैको ठानेर होटलको लवीमा लगेर राखिदिँदा निर्धारित समयमा टाइम बम विस्फोट हुँदा त्यहाँका कर्मचारीको ज्यान गयो।
ग्यालरी बैठकको गेटमा टाइम बम विस्फोट हुँदा पानी परिरहेको थियो। पानी परेकाले ग्यालरी बैठकको मूल ढोका अगाडिको छानोमुनि ओत लागिरहेका बेला टाइम बम बिस्फोट भई रापंस गुरुङ र अर्का एक सरकारी कर्मचारीको दुखद निधन भएको थियो।
त्यो विस्फोटको उद्देश्य नभई राजतन्त्रलाई चेतावनी दिनुमात्र भएपनि निर्दाेषहरुको मृत्यु भएकोमा रामराजा दुख प्रकट गर्थे । विस्फोटमा निधन हुनेहरुलाई उनले गणतन्त्रका लागि सुरु गरिएको आन्दोलनका शहीद मान्थे।
रामराजाप्रसाद सिंह महात्मा गान्धी, चे ग्वे भारा र माओ–त्से–तुङका समान अनुयायी थिए। उनको जीवनशैली महात्मा गान्धीको जस्तो थियो, गान्धीलाई उनी उच्च सम्मान गर्थे।
जनवादी क्रान्तिमार्फत् चीनलाई मुक्त गरेकाले चिनियाँ क्रान्तिका नेता माओ उनका आदर्श थिए।
सिंह चे ग्वेभाराको व्यक्तित्व र क्रान्तिकारी स्वभावबाट अत्याधिक प्रभावित थिए । चेलाई त उनले विद्यार्थी कालमै भेटेका पनि थिए। त्यसैले, उनी नेपालमा गणतान्त्रिक क्रान्ति चे ग्वेभारा र फिडेल क्यास्ट्रोले झैँ गर्न चाहन्थे।
देशव्यापी बम विस्फोटनमार्फत् क्रान्तिको शंखनाद गरेपछि मानिसहरु क्रान्तिको पक्षमा आइहाल्छन् र राजतन्त्र ढल्ने प्रक्रिया सुरु हुन्छ भन्ने उनको विश्लेषण थियो, जो समयक्रममा अव्यवहारिक सिद्ध भयो।
आफ्नो र संगठनको सीमा, अव्यवहारिक दृष्टिकोणका कारण उनकै नेतृत्वमा गणतन्त्र स्थापना हुन सकेन। आफू ‘असफल’ भएपनि उनले गणतन्त्रको झण्डा कहिल्यै झुक्न दिएनन्।
आफू माओवादी नभएपनि उनले गणतन्त्रको झण्डा माओवादीको हातमा थमाए, आफ्नै जीवनकालमा नेपालमा गणतन्त्र स्थापना भएकोमा उनमा अपार हर्ष थियो।
वरिष्ठ पत्रकार एवम् लेखक सीताराम बरालको फेसबुक पेजबाट साभार ।