सप्तरीमा २ वर्षीया बालिका मृत भेटिएको घटनामा सौतेनी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया बालिका शंकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। घटनामा संलग्नताको आशंकामा बालिकाकी सौतेनी आमा मुस्कान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार बिहान घरअगाडिबाट अचानक हराएकी थिइन्। परिवारका अनुसार उनी बिहान पौने १० बजेसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको घरअगाडि खेलिरहेकी थिइन्। त्यसपछि बालिका नदेखिएपछि परिवारजनले आसपासका क्षेत्रमा खोजी थालेका थिए।

लामो समयसम्म बालिका फेला नपरेपछि परिवारले इलाका प्रहरी कार्यालय रुपनीलाई जानकारी गराएको थियो। त्यसपछि प्रहरी, स्थानीयवासी र परिवारजनले संयुक्त रूपमा खोजी गर्दा घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि प्रहरीले बालिकाको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा परिवारभित्र घरायसी विवाद रहेको खुलेको र सौतेनी आमा मुस्कान खातुनमाथि समेत आशंका देखिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले बताएका छन्।

बालिकाकी आमा रुबिना खातुनले भने आफ्नी छोरीको मृत्युमा मुस्कानको संलग्नता रहेको दाबी गरेकी छन्। यद्यपि, प्रहरीले घटनाको वास्तविक कारणबारे अनुसन्धान पूरा नभएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने जनाएको छ।

बालिकाको शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम रिपोर्ट, घटनास्थलको अनुसन्धान तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बालिकाका बुवा हाल वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस