लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने जसपाका तीन सांसदलाई पुनः स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले पार्टीको निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका आफ्ना तीन प्रदेशसभा सदस्यलाई पुनः स्पष्टीकरण माग गरेको छ।

जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी) र बाँके निर्वाचन क्षेत्र नम्बर २(१) का भण्डारीलाल अहिरसँग पुनः स्पष्टीकरण माग गरिएको हो।

पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र सरकारको विपक्षमा मतदान गर्न निर्देशन दिएको जनाएको छ। तर, उक्त निर्देशनविपरीत तीनै सांसदले सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि उनीहरूसँग स्पष्टीकरण माग गरिएको थियो।

तीन सांसदले दिएको स्पष्टीकरण पार्टीको नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाएको र उठाइएका प्रश्नहरूको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ प्राप्त नभएको जसपाको निष्कर्ष छ।

पार्टीले पुनः स्पष्टीकरण माग गर्दै तीनवटा विषयमा स्पष्ट धारणा पेस गर्न निर्देशन दिएको छ। पार्टीको स्पष्ट निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति, निर्णय तथा निर्देशनविपरीत कार्य गर्न मिल्ने वा नमिल्नेबारे धारणा र पार्टी निर्देशनको अवज्ञा गरी गरिएको कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिने भन्ने विषयमा जवाफ मागिएको छ।

पत्रमा तोकिएको समयभित्र पार्टी केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। चित्तबुझ्दो स्पष्टीकरण नआए पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।

जसपाले पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस