छोरी जन्माउनै डर लाग्ने देश: सरकार, तिम्रो मौनता कहिलेसम्म ?

निता थापा
​गरिमा नानीमाथि भएको पाशविक बलात्कार र हत्याको खबरले आज देशका हरेक आमा, दिदीबहिनी र न्यायप्रेमी नागरिकको मुटु छियाछिया भएको छ। एउटी अबोध बालिका, जसलाई दुनियाँको कुनै पाप, छल र स्वार्थको भेउ थिएन, उनको त्यो विभत्स अन्तले आज एउटा कहालीलाग्दो प्रश्न उब्जाएको छ— के यो देश छोरीहरूको लागि सुरक्षित छ? आज यो घटनाले लाखौं आमाहरूको मनमा एउटा यस्तो डरलाग्दो र पीडादायी सोच पैदा गरिदिएको छ कि, यो क्रुर र असुरक्षित समाजमा छोरी जन्माएर दिनदिनै त्रासमा बाँच्नुभन्दा त बरु गर्भमै तुहाउनु बेस!

​हाम्रो सरकार र राज्य संयन्त्रको प्राथमिकता आखिर कता छ? उमेर पुगेका युवायुवती होटलमा बस्दा छापा मार्न दौडिने, आफैँले स्वीकृति दिएर खोल्न लगाएका स्पा र मसाज सेन्टरमा गएर बहादुरी देखाउने, र उमेर पुगेकाहरूबीच आपसी सहमतिमा भएको सम्बन्धमा पछि गएर उजुरी पर्दा छानबिन गर्न तम्सिने सरकार, आज एउटी नाबालिकाको यति जघन्य हत्या हुँदा किन मौन छ? साना-साना कुरामा हस्तक्षेप गर्न भ्याउने राज्यले यस्ता नरपिसाचहरूलाई कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय दिन किन सकिरहेको छैन?

​आफ्नो राजनीतिक स्वार्थका लागि, आफ्ना मान्छे भर्ती गर्न र मन नपरेका कर्मचारी हटाउन रातारात अध्यादेश ल्याउन सक्ने सरकारले यस्ता अपराधीहरूलाई फाँसीको सजाय दिने कानुन बनाउन किन सक्दैन? एउटी अबोध बालिका लुटिँदा र मारिँदा अपराधीलाई मृत्युदण्डको कानुन ल्याउन यो राज्यलाई केले रोकिरहेको छ? स्वार्थको लागि जे पनि गर्न सक्ने नेतृत्वले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न एउटा कडा कानुन किन ल्याउन सक्दैन?

​आज सरकार यो जघन्य अपराधको सम्पूर्ण दोष नेपाल प्रहरी र स्थानीय तहलाई पन्छाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेको छ। देशको केन्द्रीय सरकार यसरी आँखा चिम्लिएर र कान थुनेर बस्ने हो भने सर्वसाधारणले न्यायको आश कोसँग गर्ने? यो केवल एउटी गरिमाको मात्र कुरा होइन, यो देशका लाखौं छोरीहरूको सुरक्षा र भविष्यको कुरा हो।

​सरकार, अब आँखा नचिम्ल! नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने र यस्ता अपराधीलाई कडा कारबाही गर्न नसक्ने हो भने सत्ताको कुर्सीमा बस्ने कुनै नैतिक अधिकार तिमीलाई छैन। अब जनतालाई तिम्रो मौनता होइन, जवाफ र न्याय चाहिएको छ। Source: facebook

Author:



क्याटोगरी छान्‍नुहोस