चूरे संरक्षण कार्यक्रमः बजेट सिध्याउन उपभोक्ता समितिको मनलाग्दी काम

राजविराज, ५ असार । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित खाँडो नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा उपभोक्ता समितिले मनलाग्दी गर्ने गरेको पाइएको छ । स्थानीयहरुले विरोध जनाएपछि बजेट सिध्याउन तटबन्ध निर्माण कार्य अपारदर्शी र अव्यवस्थित रुपमा भइरहेको बाहिरिएको हो ।

योजनाको निर्माण सुरु गर्नुअघि नै निर्माणस्थलमा होडिङ्ग बोर्ड (निर्माणधिन योजनाको विस्तृत जानकारीसहितको पाटी) राख्नुपर्ने कानूनी प्रावधान छ । तर, झण्डै एक करोडको बजेटमा तटबन्ध निर्माण थालिए पनि सो स्थानमा होडिङ्ग बोर्डसम्म राखिएको छैन् । बजेट सिध्याउनकै लागि मनलाग्दी निर्माण कार्य भइरहेको स्थानीयहरुको आरोप छ । ‘बजेट सिध्याउन नै तटबन्ध निर्माण भइरहेको स्पष्ट देखिन्छ, यहाँ बाँधको आवश्यकता छ/छैन भन्ने कुराको लेखाजोखा पनि गरिएको छैन्’ स्थानीय संजिव यादवले भने–‘र, सर्वसाधारणलाई अन्यौलमा राख्न होडिङ्गसम्म नराखि हतार हतारमा निर्माण कार्य अघि बढाइएको छ ।’

खाँडो नदीको बाढीले दशकौंदेखि यस भेगका सर्वसाधारणलाई पिडा दिँदै आए पनि नदी नियन्त्रणको नाममा करोडौं बजेट यसरी नै अव्यवस्थित रुपमा खर्च भइरहदा समेत अझैं बाढीको त्रास कायमै रहेको उनले बताए । ‘तटबन्ध निर्माण हुनु राम्रो काम हो तर जहाँ बढी आवश्यकता छ, त्यहाँ न तटबन्ध बनाउनुपर्ने हो ?’ उनले भने–‘यसतर्फ खाँडो नदी व्यवस्थापन आयोजनाको ध्यान पुग्नु जरुरी छ ।’

कार्यक्रम अन्तर्गत राजविराज–हनुमाननगर सडक खण्ड अन्तर्गत खाँडो नदीमा रहेको पुलदेखि दक्षिणतिर पूर्वतर्फ ११५ मिटर र पश्चिम १८५ मिटरको तटबन्ध निर्माण हुँदैछ । दुवैतर्फ ४०/४० लाख गरी कुल ८० लाख रुपैयाँमा तटबन्ध निर्माण कार्य भइरहेको बताइएको छ ।

हामीसँग समन्वय गरेको छैनः खाँडो नदी व्यवस्थापन आयोजना

खाँडो नदी व्यवस्थापन आयोजनाले सो निर्माण कार्य आफुसँग कुनै समन्वय नै नगरी सञ्चालनमा रहेको जनाएको छ । आयोजनाले गत चैत २० गते नै पत्रमार्फत सो बारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको हो ।

पत्रमा भनिएको छ, ‘राजविराज–हनुमाननगर सडक खण्डको खाँडो नदीको पुलभन्दा तल्लो भागमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत सञ्चालित निर्माण कार्य यस खाँडो नदी व्यवस्थापन आयोजनासँग कुनै किसिमको समन्वय नगरी सञ्चालनमा रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’

‘इन्जिनियर र ओभरसियरसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउँछौं’

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सो विषयमा थप बुझ्नको लागि इन्जिनियर र ओभरसियरलाई बोलाइएको बताए । ‘दुवैतिर बाँध निर्माण भइरहेको कुरा मैले पनि हेरे, थप बुझ्नको लागि त्यहाँका इन्जिनियर र ओभरसियरलाई बोलाएको थिए तर आज शनिवार भएर होला आउनुभएन’ उनले मधेशलाइभलाई भने–‘त्यहाँ बाँध खासै जरुरी छैन जस्तो लाग्छ, खाँडो नदी व्यवस्थापन आयोजना र हामीसँग समन्वय गरेको भए छलफल गरेर जुन ठाउँमा अतिआवश्यक छ त्यहाँ बाँध बनाउथ्यो पनि, थप कुरा उहाँहरु (इन्जिनियर) आएपछि बुझेर आवश्यक प्रतिक्रिया अघि बढाउँछौं ।’

पूर्वतिरका तटबन्ध निर्माण गराइरहेका उपभोक्ता समितिका अध्यक्ष विन्दी यादवले निषेधाज्ञाका कारण होडिङ्ग बोर्ड बनाउन नसकिएको स्वीकार गरे । ‘निषेधाज्ञाले बोर्ड बनाउन सकिएन, अब बोर्ड लगाउछु’ उनले भने–‘अरु कामहरु ठोस नै भइरहेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस