राजविराज – सप्तरीमा एकै दिन ४ जनाको अकालमै ज्यान गएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा झुण्डिएर २ तथा विषादी सेवन र सडक दुर्घटनामा परेर १/१ जनाको ज्यान गएको हो ।
बुधबार साँझ जिल्लाको रुपनी गाउँपालिका–५ धुरगाम टोलका रमेश दासकी श्रीमति २५ वर्षीया बबी दासको झुण्डिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
उनका अनुसार बबीले आफ्नै घरमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । त्यस्तै, बोदे बरसाइन नगरपालिका–८ वैरियाहीकी २० वर्षीया चित्ररंजनकुमार यादवले रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।
बुधबार साँझै जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ छबकीका २२ वर्षीया प्रियांका कुमारी महतोले विषादी सेवन गरी आत्महत्या गरेकी प्रहरी उपरीक्षक कार्कीले बताए । त्यस्तै, बुधबार राजविराजमा सिमेन्ट घोल्ने मिकस्चर गाडीले बिपरित दिशाबाट आउँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
राजविराज नगरपालिका–६ स्थित सखडा मोडबाट नेता चौकतर्फ जाँदै गरेको सो गाडीले साइकलयात्री जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–८ बेलाहाका ८६ वर्षीय उचितलाल मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको उपचार हुँदैगर्दा छिन्नमस्ता अस्पताल राजविराजमा गए राति ज्यान गएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
मिक्सचर चालक जिल्लाको खडक नगरपालिका–५ खोजपुरका २४ बर्षीय अशोक चौधरी र सह–चालक रुपनी गाउँपालिका–२ का २४ वर्षीय नरेश कुमार चौधरी नियन्त्रण लिइएको जनाएको छ ।