मलंगवा । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दास (छोटेलाल) लाई प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार उनलाई मंगलबार बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको हो ।
गत असोज १७ गते साँझ दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुंगामुढा र आक्रमण गरेको आरोप छ । घटनामा प्रहरी चौकीका इन्चार्ज नायब निरीक्षक अवधेशप्रसाद यादव घाइते भएका छन् । उनको अगाडिका दुई दाँत भाँचिएको र अन्य पाँच जना प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।
आक्रमणका क्रममा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा प्रहरी चौकीमा पार्क गरिएका तीन मोटरसाइकल क्षतिग्रस्त भएका थिए ।
दुर्गा पूजाको चन्दा उठाउने विषयमा विवाद भएपछि गोडैता–७ का कारिल यादव र रामनगर–५ का अनिल राय यादवबीच झडप भएको थियो । अनिललाई पक्राउ गरी प्रहरी चौकीमा राखिएको बेला कारिलको पक्षबाट आएका वडाध्यक्ष दाससहितको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
वडाध्यक्षलाई मलंगवा ल्याई हिरासतमा राखिएको छ । उनको पक्राउको विरोधमा बुधबार बिहानैदेखि गोडैता बजार बन्द गरिएको छ ।