अनुभवी नेताहरु सङ्गठनको मूलधारमा उभिनु आवश्यक

शैलेन्द्र प्रसाद साह

शैलेन्द्र प्रसाद साह

उपेन्द्र यादव ज्यूको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी, नेपाल पछिल्लो समय संगठनात्मक रूपमा कमजोर पार्ने विभिन्न चलखेल, विभाजन र बहिर्गमनजस्ता घटनाबाट गुज्रँदै आएको तथ्य लुकेको छैन। तर वर्तमान राष्ट्रिय राजनीति, पहिचान–अधिकारका मुद्दा, संघीयता, समावेशीकरण र संविधान संशोधनका एजेण्डा पुनः केन्द्रीकृत हुँदै गएको अवस्थालाई हेर्दा जसपा नेपालको आवश्यकता झन् बढेर आएको छ।

यही परिस्थितिमा पार्टीको हालैको बैठकले विगतका निराशा,लअसहमति वा परिस्थितिजन्य कारणले पार्टीबाट टाढा रहेका नेता तथा कार्यकर्तालाई पुनः संगठनमा फर्किन खुला आह्वान गरेको निर्णय ऐतिहासिक र दूरदृष्टियुक्त मानिन्छ। पार्टी एकतालाई सर्वोपरी राख्दै नयाँ गति र उर्जा सिर्जना गर्ने दिशामा गरिएको यो कदम संगठनलाई पुनर्जीवित बनाउने महत्वपूर्ण अवसर हो।

यदि अनुभवी, सिद्धान्तनिष्ठ र जनतामुखी नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युबराज कार्की लगायत पुनः एकताबद्ध भएर सङ्गठनको मूख्य धारमा जिम्मेवारीसहित उभिन सक्ने हो भने जसपा नेपाल फेरि एक बलियो, वैकल्पिक र भरोसायोग्य शक्ति बन्नेमा कुनै शंका रहने छैन।

यी नेताहरूको अनुभवी नेतृत्व, राजनीतिक परिपक्वता र देश परिवर्तनप्रतिको प्रतिबद्धता एक ठाउँमा जोडिन सकेमा पहिचान र अधिकारका एजेन्डाहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन,संघीयता र समावेशीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन,भ्रष्टाचार, अस्थिरता र नीतिगत भ्रमबाट थिलथिलो बनेको राजनीतिक वातावरणमा वैकल्पिक मार्गचित्र प्रस्तुत गर्न र मधेशदेखि हिमालसम्मका नागरिकलाई एउटै राजनीतिक छातामुनि समेट्न जसपा सक्षम शक्ति बन्न सक्छ।

यस्तो पुनर्गठन र एकीकृत नेतृत्वले जसपा नेपाललाई देशको पहिलो वैचारिक, समावेशी र राष्ट्रिय पार्टीका रूपमा रूपान्तरण गर्न सक्ने सम्भावना अत्यन्त उच्च छ। वर्तमान राजनीतिक अन्योल, जनअसन्तोष, नेतृत्वविहीनता र वैकल्पिक शक्तिका खोजी भइरहेका बेला यो अवसर गुमाउनु देशको परिवर्तन यात्रालाई नै कमजोर पार्नु हुनेछ। अतः पुनः एकता, पुनः विश्वास र पुनः संगठन—यही सूत्रमा अघि बढेमा जसपा नेपाल देश परिवर्तनको अग्रपंक्तिमा उभिन निश्चित छ।
(लेखक साह, जसपा नेपालका केन्द्रीय सचिव हुन् ।)

Author:



क्याटोगरी छान्‍नुहोस