पूर्व प्रधानमन्त्री भट्टराई भन्छन् ‘देश पुरानै ढर्रामा फर्किदैछ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहपछि देश पुनः पुरानै राजनीतिक शैलीतर्फ फर्कन थालेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी गर्दै उनले राजनीतिक नेतृत्व, दलहरू तथा अन्तरिम सरकारले प्रदर्शित गरिरहेको उदासीनता र आत्मसन्तुष्टिप्रति गम्भीर प्रश्न उठाएका हुन्। भट्टराईका अनुसार जेनजी विद्रोहले केवल देशमै होइन, अन्तर्राष्ट्रिय जगतमा पनि ठूलो हलचल ल्याएको थियो। तर त्यति ठूलो घटनाले संकेत गरेका राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र सम्बन्धी सुधारहरूका विषयमा “गम्भीर विमर्श र पहल हुनुपर्नेमा सबैजना सुतुरमूर्गजस्तै समस्याबाट भाग्दै आफ्नै पुरानै धन्दामा फर्किन” लागेको देखिनु दुर्भाग्यपूर्ण रहेको उनले लेखेका छन्।

उनी अगाडि लेखेका छन् ‘पुराना दल र नेताहरू भदौ २४ को भागाभागलाई चटक्कै बिर्सेर कुनै आत्मसमीक्षा विना पुनः आत्ममुग्धतामा फर्किएका छन्।’ यस्तै, नयाँ वा वैकल्पिक दाबी गर्ने दल तथा नेताहरूले देशका आर्थिक, भू–राजनीतिक र सामाजिक–सांस्कृतिक जटिलताहरूको संरचनात्मक समाधानका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्न असफल भएको भट्टराईको आरोप छ । उनका अनुसार पपुलिस्ट शैली र आत्मकेन्द्रितताले यस्ता दलहरूलाई पनि दिशाहीन बनाइरहेको छ ।

अन्तरिम सरकारले समेत जेनजी विद्रोहका तत्कालीन माग पूरा गर्ने ठोस पहल नगरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले सरकार “कुइरोको काग“ जस्तै बन्दै गएको टिप्पणी गरेका छन् । गम्भीर आन्तरिक र बाह्य परिस्थितिको समाधानमा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता जोड्दै उनले चेतावनी दिएका छन् ‘देश र जनताप्रति जिम्मेवार सबैले साँघुरो स्वार्थभन्दा माथि उठेर दिगो समाधानका लागि हातेमालो गर्न जरुरी छ। नत्र भोलि धेरै ढिलो हुन सक्छ। इतिहासले कसैलाई माफी दिनेछैन।’

Author:



क्याटोगरी छान्‍नुहोस