राजविराज । सप्तरीको बिष्णुपुर गाउँपालिकालाई आइतबार आयोजित एक समारोहका बीच बालविवाहमुक्त गाउँपालिका घोषणा गरिएको छ ।
वडाहरु बालविवाहमुक्त भइसकेपछि पालिकालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व सिंचाइँ मन्त्री उमेश कुमार यादव र पालिका अध्यक्ष उमेश प्रसाद यादवले संयुक्त रुपमा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् । सेभ द चिल्ड्रेन र पालिकाको संयुक्त सहकार्यमा भएको यो घोषणासँगै विष्णुपुर गाउँपालिका सप्तरीकै चौथो बालविवाह मुक्त गाउँपालिका बन्न पुगेको हो ।
कार्यक्रममा प्रमुख अतिथिले ब्यानर तथा पालिका अध्यक्षले घोषणापत्र वाचन गरेसँगै कार्यक्रमका सहभागीहरुले तालीको गडगडाहटका साथ अनुमोदन गरेका छन् । गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरुमा २० वर्ष उमेर पूरा नगरी विवाह भएको नपाइएको र बालविवाह मुक्त वडा घोषणाका लागि आवश्यक ९० प्रतिशत सूचक पूरा भएपछि बिष्णुपुर गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको कार्यक्रममा पालिका अध्यक्ष यादवले बताए । उक्त कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै पूर्णतः पालनामा समेत सजग रहन उनले आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री उमेश यादवले बालविवाहका कारण पारिवारिक तथा सामाजिक जीवनमा असर पार्ने भएकोले २० वर्ष पुरा नभएसम्म आफ्ना सन्तानलाई बालविवाह नगर्न नगराउन आह्वान गरे । उक्त अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देव, वडा अध्यक्षहरु भोगेन्द्र यादव, जिवछ मण्डल, लोचन साह, गाउँपालिका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता सहितका वक्ताहरुले बालविवाहमुक्त घोषणालाई पूर्ण रुपमा कार्यान्वयनका लागि सबै पक्षलाई आआफ्नो तवरबाट भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
Image: Bishnupur Rural Municipality/Saptari
