संविधान संशोधन र संघीयता सुदृढीकरणका लागि निर्वाचन निर्णायक : उपेन्द्र यादव

देवदह (रूपन्देही), २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने निर्वाचन संविधान संशोधन तथा पुनर्लेखन, संघीयता सुदृढीकरण र आम नागरिकलाई न्याय दिलाउने दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।

रूपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईमा जसपा नेपालको लुम्बिनी प्रदेश समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यसपटकको निर्वाचनमा जसपा नेपाल विजयी भई सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले संविधान सबै नागरिकको अपनत्व हुने गरी परिमार्जन आवश्यक रहेको बताउँदै जनसंख्याको आधारमा सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए। “हरेक जातजाति, धर्म र समुदायले अपनत्व महसुस गर्ने संविधान आवश्यक छ,” उनले भने।

अध्यक्ष यादवले संघीयता मजबुत बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाइनुपर्ने उल्लेख गरे। साथै, जेन्जी आन्दोलनका क्रममा भएका सम्झौताहरू कार्यान्वयन नगर्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै ती सम्झौता तुरुन्त कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

उनले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको दाबी गर्दै देशमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले हालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएकाले राजनीतिक दल र उम्मेदवारले धान्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे। त्यसैले नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको उनको जोड थियो।

Author:



क्याटोगरी छान्‍नुहोस