समानुपातिक बन्द सूचीबाट डा. रामजी रामले लिए नाम फिर्ता

जनकपुरधाम । दलित समुदायबाट समानुपातिक प्रतिनिधित्वका लागि बन्द सूचीमा समावेश भएका डा. रामजी रामले आफ्नो नाम स्वेच्छाले फिर्ता लिने निर्णय गरेका छन्।

डा. रामले बन्द सूचीमा नाम समावेश हुनु व्यक्तिगत रूपमा सम्मानको विषय भए पनि यसले पुस्तौँदेखि आवाजविहीन बनाइएका हजारौँ सपनाहरूको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्। उनले राजनीति केवल अवसर प्राप्त गर्ने माध्यम नभई त्याग, नैतिक साहस र सही समयमा सही निर्णय गर्ने जिम्मेवारीसमेत भएको धारणा राखेका छन्।

आफूभन्दा अझै बढी पीडित, कम सुन्निएका तर संसदभित्र पुग्न नितान्त आवश्यक आवाजहरू अझै पछाडि रहेको निष्कर्षमा पुगेपछि उनीहरूका लागि अवसर खुलोस् भन्ने उद्देश्यले एक कदम पछाडि हट्ने निर्णय गरेको डा. रामको भनाइ छ।

संसदको कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराखेको स्पष्ट गर्दै उनले सामाजिक चेतना, नागरिक अभियान र वैकल्पिक मोर्चामार्फत पनि न्याय र समानताको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन्। दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिएको उनले जानकारी दिएका छन्।

डा. रामले फरक भूमिकामा रहेर पनि राजनीतिक चिन्तन, अल्पसंख्यकको आवाज, दलित अधिकार, सामाजिक न्याय, लोकतान्त्रिक मूल्य र सुशासनका पक्षमा सधैँझैँ दृढ आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
“यो यात्रा यहीं समाप्त भएको होइन, अझ जिम्मेवार रूपमा सुरु भएको मात्र हो,” भन्दै उनले सामाजिक रूपान्तरणको संघर्ष निरन्तर जारी रहने संकेत गरेका छन्।

Author:



क्याटोगरी छान्‍नुहोस